काठमाडौं । एटीएम कार्डबाट डाटा तथा पिन चोरी गरी अनधिकृत रुपमा रकम चोरी गर्ने तीन रोमिानीयन नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा रोमानियन नागरिक ५२ वर्षीय गीता हुजुम राहदानी नम्बर ०८७२०१२८२,४८ वर्षीय आइओसिफ मोरारु राहदानी नम्वर ०५२२१२६७० र ४५ वर्षीय एलेक्स क्रिस्टीयन वुघिउर्लान राहदानी नम्वर ०५१७६२३० रहेका छन् ।
उनीहरुलाई प्रहरीले कात्तिक १९ गते ठमेलबाट फक्राउ गरेको हो । उनीहरुको साथबाट स्वदेशी तथा विदेशी नोट र अवैध सामान र उपकरणहरु पक्राउ गरेको नेपाल प्रहरी अन्तर्गत केन्द्रिय अनुसन्धान व्युरोले जनाएको छ । प्रहरीका अनुसार उनीहरुलाई बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ बमोजिम आवश्यक अनुसन्धान कार्य भैरहेको छ ।
प्रहरीले उनीहरुलाई नेपाल इन्भेष्टमेन्ट बैंकको सहयोगमा पक्राउ गरेको हो । युरोपेली मुलुकका नागरिकहरुले विभिन्न अत्याधुनिक उपकरणहरु साथैमा लिएर काठमाडौंको ठमेल र दरबारमार्गमा बसी एटीएमहरुमा हिडन क्यामरा जडान गरी एटीएम पीन पत्ता लगाएर रकम चोरी गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।
उनीहरुको साथबाट तीन लाख ८५ हजार नेपाली रुपैयाँ, १० हजार युरोपियन डलर, ४७० पिलिपनो रकम, विभिन्न एटीएम कार्डहरु ३५३ थान, मोवाइल ६ थान र ल्यापटप २ थान प्रहरीले बरामद गरेको छ । त्यसैगरी उनीहरुको साथबाट प्रहरीले हिडन क्यामरा, कार्ड पर्सनलाइजेसन मेसिन, फल्स एटीएम किप्याड, फल्स कार्ड स्लट, कार्ड स्लटमा फिट गरी ग्राहकको कार्डमा रहेको डाटा अनधिकृत रुपमा कपी गर्न प्रयोग हुने सेट २ थान, विभिन्न औजारहरु र हवलट कम्पनीको २५ लाखको स्वीस घटी एक वटा पनि प्रहरीले बरामद गरेको छ ।
यसरी निकालिन्छ अन्य ग्राहकको खाताबाट रकम ?
युरोपीयनहरु पर्यटक भिसामा नेपाल आएर ठमेल र दरबारमार्गमा बस्ने गरेका छन् । सुरक्षाकर्मी नभएको एटिएम बुथमा पस्छन् र ग्रहकले पिनकोड थिचेको दृश्य रेकर्ड हुने गरी गोप्य पिनहोल क्यामेरा टाँस्छन् । एटिएम बुथको कार्ड छिराउने स्लटमा इलेक्ट्रोनिक कार्ड रिडिङ डिभाइस जडान गर्छन् र बाहिर बसेर ग्रहक पस्ने अपेक्षामा बस्छन् । जव ग्राहकले सो एटीएम प्रयोग गर्छन तव उनीहरुले राखेको गोप्य क्यामेराले ग्राहकको पीनकोर्ड खिचिरहेको हुन्छ ।
ग्राहकको कार्डको म्याग्नेटिक स्ट्राइपमा भएको डाटा उसले मेसिनमा छिराएको नक्कली कार्ड स्लटले कपी गरिसकेको हुन्छ । जव ग्राहक एटीएम वुथबाट बाहिर निस्कन्छ ।
त्यसपछि उनीहरु भित्र छिर्छन्, गोप्य क्यामेरा र कार्ड रिडिङ डिभाइस निकालेर लान्छन् । कार्डको म्याग्नेटिक स्ट्राइपमा स्क्यान गरी रेकर्ड गरिएका ग्राहकको गोप्य बैंक विवरणलाई कार्ड स्किमरको सहायताले खाली कार्ड (ब्ल्याङ्क कार्ड) मा ट्रान्सफर गर्छन् ।
त्यो खाली कार्ड ग्राहकको एटीएमसँग दुरुस्त मिल्छ भने पिन नम्वर हिडन क्यामेराले खिचेको हुन्छ । उनीहरुले यत्ति गरेपछि ग्राहकको खाताबाट रकम निकाल्ने गरेका छन् ।
प्रहरी उपरिक्षक दिवेश लोहनीका अनुसार यसअघि नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्युरोले एटीएम बाट रकम ठगी गर्ने टर्किस नागरिक मेहमत गुलेन, बुल्गेरियन नागरिक पेट्रोलस्लभ हरिस्टोभ, रोमानियानी नागरिक र बुल्गेरियन नागरिक पनि पक्राउ परी बैकिङ कसुर तथा सजाज ऐन बमोजिम कारबाही भइरहेको छ ।
कसरी बच्ने ?
एटिएम बुथमा प्रवेश गरेपछि गोप्य क्यामेरा जडान भए नभएको, कार्ड स्लटमा डेटा चोर्ने डिभाइस भए नभएकोमा सचेत हुनुपर्छ । एटिएमबाट रकम झिक्ने बित्तिकै मोबाइलमा एसएमएस अलर्ट आउने बनाउन र त्यसमा ध्यान पनि दिनुपर्ने हुन्छ ।
प्रतिक्रिया