काठमाडौ । नेपालीसँग भएका भारतीय पाँच सय र एक हजारका नोट नचल्ने निश्चित भएको छ । भारत सरकारले नेपालीसँग भएको भारतीय नोटको बारेमा वेवस्ता गरेपछि भारतीय नोट नसाटिने भएको हो । भारतसरकारसँग नेपाल राष्ट्र बैंकले नेपालीसँग रहेको भारतीय ठूला दरका नोट साट्न पटक–पटक आग्रह गरे पनि भारत सरकारले वेवास्ता गरेको छ ।
भारतमा यी नोट साट्ने अवधि पुस १६ (डिसेम्बर ३१)सम्म छ । भारतीय पक्षले बेवास्ता गरेका कारण नेपालबाट भारतीय पक्षसँग कुराकानी गर्ने जाने भनिएको टोली जान सकेको छैन ।
यसअघि ठूला दरका भारु साट्ने सम्बन्धमा छलफल गर्न अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय र राष्ट्र बैंकका प्रतिनिधि सम्मिलित समिति बनाएर भारतमा जाने डेपुटी गभर्नर शिवाकोटीले बताएका थिए । कालो धनका रूपमा ठूलो रकम रहेको आशंका गर्दै भारतले गत कात्तिक २४ मा यी नोटहरू प्रतिबन्ध लगाएपछि नेपालमा पनि प्रतिबन्ध लागेको छ ।
नेपालका तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले भारतीय वित्तमन्त्री अरुण जेट्ली र नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले भारतीय रिजर्व बैंक (आरबीआई)का गभर्नर उर्जित पटेलसँग संवाद जारी राखेको भनिए पनि भारतीय पक्षले भने यसबारेमा कुनै प्रतिक्रिया दिएको छैन ।
भारतमा ठूला दरका नोट साट्ने अवधि सकिन १३ दिन मात्र बाँकी छ । पुस १६ भित्र भारतका सर्वसाधारण आ–आफूसँग भएका पाँच सय र एक हजार दरका भारु साटिसक्नुपर्छ । तर, नेपालमा भने भारतीय पक्षको बेवास्ताले यी नोट नसाटिने निश्चित भइसकेको बैंकिङ क्षेत्रका विज्ञले बताएका छन् । कारोबार दैनिकबाट
प्रतिक्रिया