काठमाडौं । विदेशी डलर आम्दानी गर्ने हस्तकला व्यवसायको प्रवद्र्धनका लागि सरकारले अघि सारेको हस्तकलाग्रामको अवधारण त्यत्तिकै ओझेलमा परेको छ । आठ वर्षअघि सरकारले बजेट बक्तव्यमा हस्तकलाग्राम बनाउने घोषणा गरेपनि हालसम्म कुनै प्रक्रिया अघि बढ्न सकेको छैन ।
तत्कालिन उद्योगमन्त्री अष्टलक्ष्मी शाक्यले बन्द अवस्थामा रहेको चोभारस्थित हिमालय सिमेन्टको करिव दुई सय रोपनीको जग्गामा हस्तकलाग्राम बनाउने निर्णय गरेकी थिइन् । यसका लागि नेपाल हस्तकला महासंघले डिपिआर समेत तयार पारेको थियो । तर, त्यहाँ स्थानीय बासिन्दाको विरोधका कारण सरकारले त्यहाँ हस्तकलाग्राम बनाउन जग्गा दिन सकेन । ।
त्यसपछि खरिवोटमा रहेको नेपाल विद्युत प्राधिकरणको करिव डेढ सय रोपनी जग्गा हस्तकलाग्राम बनाउनको लागि दिने भनेर सरकारले निर्णय गरेको थियो । हस्तकलाग्राम बनाउनको लागि खरिवोटमा हस्तकला महासंघले डिपीआर तयार गरी नक्सा समेत बनाइसकेको थियो । तर सो जग्गा नेपाल विद्युत प्राधिकरणको जग्गा रहेको र प्राधिकरणले बैंकमा सो जग्गा धितोमा राखेका रहेछ । उक्त जग्गाको ऋण अत्यधिक भएको र प्राधिकरणले जग्गा प्रयोगमा ल्याउन चाहेमा सो ऋण तिर्नुपर्ने शर्त राखेपछि सरकार र हस्तकला महासंघ पछि हटेको थियो ।
सरकारले बजेट बक्तव्य मार्फत पाँचैवटा विकास क्षेत्रमा हस्तकलाग्राम बनाउने अवधारणा पनि अघि सारेको छ तर सो कार्यान्वयन हुन भने अझे सकेको छैन ।
२५ बर्षअघि तत्कालिन हस्ककला महासंघका अध्यक्ष यज्ञरत्न धाख्वाले नेपालमा हस्तकलाग्रामको अवधारणा अघि सारेका थिए । हस्तकलाग्राम बनाउनुपर्छ भन्दै हालका अध्यक्ष धर्मरत्न शाक्य समेत उद्योगमन्त्रालय धाइरहेका छन् । तर बजेट अभाव देखाउदै उद्योग मन्त्रालयले हस्तकलाग्राम बनाउने कुनै सुरसार गरेको छैन ।
हस्तकला महासंघका अध्यक्ष शाक्य वेलाबेला बजेट बक्तव्य मार्फत सरकारले हस्तकलाग्रामको अवधारणा अघि सारेपनि कार्यान्वयन हुन नसकेको बताउँछन् । उनले विभिन्न देशमा हस्तकलाग्राम भएको र सो स्थानमा त्यसदेशको संस्कृति झल्कने गरी सामग्रीहरु राखिने गरको बताउँदै नेपालमा पनि त्यस्तो हस्तकलाग्राम बनाउन खोजिएपनि अहिलेसम्म मुर्त रुप लिन नसकेको गुनासो गरे ।
शाक्यले भने, हामी आफैले पनि हस्तकलाग्राम बनाउने सोचाई राखेका छौ तर धेरै रकम लाग्ने भएकोले आँट गर्न सकिरहेका छैनौ । अहिले जग्गा पनि महंगो भएको छ जसले गर्दा आफैले केही गर्न सकेका छैनौ । सरकारले सहयोग गरेमा हस्तकलाग्राम बन्न धेरै समय नलाग्ने बताउँछन् ।
उद्योग मन्त्रालयले भने हस्तकलाग्राम बनाउने विषयमा कुनै निर्णयमा पुग्न नसकेको प्रतिक्रिया दिएको छ ।
नेपालको मौलिक व्यवसायका रुपमा परिचित हस्तकलाका सामानको वार्षिक रुपमा ५\६ अर्वको निर्यात हुदै आएको छ । यसबाहेक आन्तरिक बजारमा समेत यसको कारोबार बढीरहेको छ । तर, हस्तकलाका सामानको उत्पादन वृद्धि, सामानहरुको विविधिकरण र व्यवसायीकताको अभावमा यो क्षेत्र खासै बढ्न सकेको छैन । आर्थिक वर्ष २०७०\७१ मा पाँच अर्ब तीन करोड ५९ लाखको सामान विदेश निर्यात भएकोमा आव २०७१\७२ मा चार अर्ब ७८ करोड ५४ लाख ७६ हजार बराबरको सामान निर्यात भएको महासंघको तथ्यांक छ । यो क्षेत्रलाई प्रवद्र्धन गर्न सके नेपालमाबाट निर्यात वृद्धि गरी बढ्दो व्यापार घाटा समेत कम गर्न सकिने व्यवसायीहरु बताउछन् ।
प्रतिक्रिया