काठमाडौं । नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको बैठकमा खाजा खर्च र भत्ताको रकम उच्च हुन थालेको छ । खाजा र बैठक भत्तामा मनोमानी खर्च हुन थालेपछि गत आर्थिक वर्षमा राष्ट्र बैंकले यस शिर्षकमा मात्र एक करोड १६ लाख भन्दा बढी खर्च गरेको छ । आर्थिक वर्ष २०७१\७२ सालमा खाजा खर्च तर्फ २० लाख २५ हजार र बैठक भत्ता १५ लाख ७५ हजार रुपैयाँ खर्च भएको थियो ।
आर्थिक वर्ष २०७१\७२ मा जम्मा ४५ वटा बैठक बसेको र सो बैठकमा सञ्चालक समितिको बैठक भत्ता र खाजा खर्च गरी जम्मा ३६ लाख रुपैयाँ खर्च भएको थियो । तर गत आर्थिक वर्षमा भने यस शिर्षकको खर्च दोव्वर भन्दा बढिले बृद्धि भएको छ ।
त आर्थिक वर्षमा नेपाल राष्ट्र बैंकको सयवटा बैठक बसेको र ति वैठकमा खाजाखर्च तर्फ ४५ लाख रुपैयाँ र बैठक भत्ता तर्फ ३५ लाख रुपैयाँ खर्च भएको स्रोतले जनाएको छ ।
राष्ट्र बैंक सञ्चालक समितिले प्रतिव्यक्ति प्रति बैठक पाँच हजार रुपैयाँ पाउने गरेका छन् । हाल राष्ट्र बैंक सञ्चालक समितिमा सात जना सञ्चालक रहेका छन् ।
बोर्ड बैठकको खर्च कति भनेर सिमा नतोकिएका कारण राष्ट्र बैंकमा मनोमानी रुपमा खर्च हुन थालेको राष्ट्र बैंक स्रोतको दावी रहेको छ । ‘प्रत्येक बोर्ड बैठकमा भत्ता खर्च ३५ हजारको हाराहारीमा हुने गरेको छ भने खाजा खर्च ४५ हजारसम्म पुग्ने गरेको छ,’ राष्ट्र बैंक स्रोतले भन्यो ।
स्रोतका अनुसार पहिले सञ्चालक समितिले राष्ट्र बैंकमा रहेको क्यान्टिनबाट खाजा खान्थे भने अहिलेका गभर्नर डा.चिरन्जीवी नेपालले होटल र्याडिसन, बबरमहलस्थित बबरमहल रिभिजिटेड र केएफसीको खाजा मगाउने गरेका छन् ।
भाटभटेनीको जुस तथा ड्राइ फ्रुट्समा मात्र बैठकमा झण्डै २५ हजार खर्च हुने गरेको पाइएको छ ।
‘बोर्ड बैठक कति समयसम्म बस्ने र कम्तिमा कतिवटा विषयमा निर्णय गर्ने भन्ने कुनै कार्यविधि नभएको कारण बोर्ड सदस्यहरु शुरुको ४५ मिनेटसम्म आगमन भन्दै पिउदै र गफिदै बस्छन् । १५ मिनेटजति छलफल गरेपछि उठ्न हतार गरेर खाजा खान्छन् र बैठक भत्ता बुझ्न थाल्छन् । बढीमा १ घण्टाको अवधिमा उनीहरुले बाटो तताइ सक्छन्’, राष्ट्र बैंक स्रोतले भन्यो ।
अन्य बैंक तथा वित्तीय संस्थाहरुलाई जथाभावी बैठक नराख्न र बैठक भत्ता नबढाउन दबाब दिने नेपाल राष्ट्र बैंक अहिले आफै कुनै विषय नै नराखी पनि बैठक बस्ने र निर्णय विना नै उठेर भत्ता बुझ्ने गरेको छ ।
त्यस्तै दुई वर्ष अगाडी बढाइएको सञ्चालक समितिको बैठक भत्ता पनि पुनः बढाएर सात हजार पाँच सय बनाउनका लागि सञ्चालक समितिमा प्रस्ताव गरिएको राष्ट्र बैंकका एक अधिकारीले जानकारी दिए ।
प्रतिक्रिया