काठमाडौँ । तरलता समस्या कसका कारण भएको भन्ने विषयमा केन्द्रिय बैंक र व्यवसायी तथा बैकरहरुविच विवाद भएको छ । बैकर्स संघले तरलता समस्याको समाधान खोजीका लागि आयोजना गरेको छलफलमा केन्द्रिय बैंक र व्यवसायीहरुले बैंकहरुले कर्जा विस्तारमा तिव्रता देखाएका कारण तरलताको समस्या भएको औल्याएका छन् ।
बैंकहरुकै असावधानीका कारण तरलताको समस्या चर्को रुपमा देखा परेको केन्द्रिय बैंकका डेपुटी गभर्नर चिन्तामणी सिवाकोटीले बताए । उनले बैंकहरुले गत बर्षको मंसिर यता ३० प्रतिशतले कर्जा बृद्धि गरेका कारण तरलताको समस्या आएको दावी गदै भने,‘राष्ट्र बैंकले मौद्रिक नीति मार्फत २० प्रतिशत मात्र कर्जा बृद्धिको लक्ष्य राखे पनि बैंकहरुले ३० प्रतिशतसम्म कर्जा बढाएका छन् जसले गर्दा तरलताको समस्या देखा पर्यो ।’ उनले बैंकहरुले भविष्यको अवस्थाप्रति विश्लेषण नगर्दा यस्तो अवस्था आएको स्पष्ट पारे ।
त्यस्तै राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायण पौडेलले बैंकहरुले निक्षेपको बृद्धिको तुलनामा तिब्र रुपले ऋण बढाएका कारण अहिले थप कर्जा प्रवाह गर्न नसक्ने अवस्था आएको र यसको जिम्मेवार बैंकहरु नै भएको बताए ।
कार्यकारी निर्देशक पौडेलले समग्र बैंकिङ प्रणालीमा तरलताको समस्या नरहेको भन्दै सोमबार मात्र बैकिङ प्रणालीमा ३० अर्ब अधिक तरलता रहेको दावी गरे ।
नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले अहिले तरलता समस्या भएको बेलामा नाफा नखोज्न बैंकहरुलाई आग्रह गरे । उनले बैंकहरुको कस्ट अफ फण्ड ०.६ र ०.७ प्रतिशतले मात्र बढेको तर बैंकले कर्जाको ब्याजदर २ देखि ३ प्रतिशतले बृद्धि गरिसकेकोले व्यवसायीहरुलाई कठिन भएको बताए ।
उनले भने,‘बैंकहरु चाही नाफा कमाइरहने अनि नीजि क्षेत्रचाही त्यसको भार बोकेर हिडिरहने ?’
पछिल्लो समयमा अर्थतन्त्रमा सकारात्मक संकेत देखिएपनि तरलता अभाबको समस्याका कारण बैंकहरुले व्याज बढाउदा समस्या निम्तिएको उनले दावी गरे ।
बैंकर्स उपाध्यक्ष किशोर महर्जनले तरलता अभावको समस्या बैंकहरुको कारणले मात्र नभएर अर्थतन्त्रकै चुनौतीको रुपमा देखिएको हुँदा सबै मिलेर समाधान खोज्नुपर्ने बताए ।
उनले निक्षेपको ब्याजदर ६ देखि ७ प्रतिशतले बृद्धि भएपनि कर्जाको व्याज २ र ३ प्रतिशतले मात्र बढेको र यही अवस्था कायम रहे बैंक तथा वित्तिय संस्थाहरु कर्जाको व्याजदर बढाउन बाध्य हुने पनि बताए ।
सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीले व्यवासायीहरुले लगानीको ३० प्रतिशत नाफा कमाउने हुदा १५ प्रतिशतसम्म व्याज तिर्दा कुनै असर नहुने बताए ।
त्यस्तै भण्डारीले कर्जाको पहुँच रोकिन नहुने भन्दै तरलताको समस्याको समाधान केन्द्रिय बैंकले खोज्नुपर्ने बताए ।
उद्योग बाणिज्य महासंघका उपाध्यक्ष शेखर गोल्छाले ‘बैंकिङमा देखिएका हर समस्याको भार निजी क्षेत्रले मात्र भोग्नुपर्छ भन्ने केहि छैन भन्दै उनले बैंकरका कारण समस्या आएपछि बैंकका लगानीकर्ताको लाभांश थोरै खुम्चँदा फरक नपर्ने बताए ।
एसोसिएसनका अध्यक्ष अनिल केशरी शाहले तरलता अभाव हुदा समग्र अर्थतन्त्रलाई नै नकारात्मक असर पर्ने भएकोले मिलेर समाधान खोज्नुपर्ने बताए ।
प्रतिक्रिया