काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा लक्ष्य बमोजिम नै आर्थिक बृद्धि हुने बताएको छ । सोमबार आयोजित चालु आर्थिक वर्षको मध्यावधि समिक्षा कार्यक्रममा सरकारले वर्षायाममा पर्यापत पानी परेका कारण आर्थिक बृद्धिको लक्ष्य हासिल गर्न सकिने बताएको हो । सरकारले चालु आर्थिक वर्षमा साढे ६ प्रतिशत आर्थिक बृद्धिको लक्ष्य राखेको छ ।
पुस मसान्त सम्ममा सरकारले जम्मा २६ प्रतिशत मात्र रकम खर्च गरेको छ । चालू आवको पुससम्ममा सरकारले कुल २ खर्ब ७४ अर्ब ६८ करोड ५१ लाख रुपैयाँमात्र खर्च गर्न सकेको छ ।
चालू आवको मध्यावधिमा सरकारले कुल खर्चमध्ये चालूतर्फ २ खर्ब १८ अर्ब ६० करोड रुपैयाँ खर्च गरेको छ ,भने पुँजीगत तर्फ ३५ हर्व २५ करोड अर्थात ११.३ प्रतिशत मात्र खर्च गरेको छ । चालू आवमा सरकारले कुल १० खर्ब ४८ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको थियो । वित्तीय व्यवस्थातर्फ भने सरकारले १७ दशमलव ३८ प्रतिशतमात्र खर्च भएको छ । वित्तीय व्यवस्थातर्फ २० अर्ब ८२ करोड रुपैयाँ खर्च भएको छ ।
उपप्रधानमन्त्री महराले धेरै पूँजीगत खर्च बिनियोजन भएका भौतिक पूर्वाधार, सहरी विकास, सिंचाई र स्वास्थ्य मन्त्रालयले छ महिनामा लक्ष्यको क्रमशः १८.४५, ८.५६, १९.०८ र २०.६ प्रतिशत मात्र खर्च गरेको जानकारी दिएका छन् ।
कार्यक्रममा उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महराले बजेटको कार्यान्वयनमा सरकारले थप जोड दिने बताए । ‘चालू आर्थिक बर्षदेखि बजेट खर्च नहुने परिपाटी तोड्ने भनेका थियौं,’ मन्त्री महराले भने, ‘तर, विभिन्न व्यवधानकाबीच तोड्न सकिएन ।’
आर्थिक बर्षको बाँकी अवधिमा यी मन्त्रालयको पूँजीगत खर्च बढाएर समग्र बजेटको पूँजीगत खर्च बृद्धि गर्ने उनले दावी गरे । राजनीतिक संक्रमणका कारण अपेक्षित रुपमा बजेट खर्च गर्न नसकिएको उनको भनाई थियो । चालु आर्थिक बर्ष सुरु हुन भन्दा ४५ दिन अघि नै बजेट आएको थियो ।
प्रतिक्रिया