भैरहवा । नेपालमा लगानी असुरक्षित भएको महसुस गरेर भारतीय लगानीको दर घटेको भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्यायले बताएका छन्।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सोमबार भैरहवामा आयोजना गरेको स्वागत तथा अन्तक्रिया कार्यक्रममा बोल्दै राजदूत उपाध्यायले भने, भर्खरै काठमाडौँमा लगानी सम्मेलन सकियो जसले नेपालमा भारतको लगानी दर घटेको देखाएको छ, त्यसको मूल कारण लगानीको असुरक्षा नै हो ।
उपाध्यायले बन्द हड्तालका कारण लगानीको सुरक्षामा चुनौती थपिएको बताए। राजदूत उपाध्यायले भारतको सहयोगमा बन्ने हुलाकी मार्ग छिट्टै निर्माण हुने जनाउँदै हुलाकी मार्गको दायाँबायाँको अतिक्रमण हटाउनको लागि स्थानीय निकायले भूमिका खेल्न आग्रह गरे ।
उनले भारतमा रहेका ५० औँ लाख नेपालीभाषी भारतीयले नेपालको समृद्धि चाहेको जनाउँदै निजी क्षेत्रले विशेष सेल बनाएर सरोकारवालाको ध्यान तत्काल समस्या पर्दाको बखत नै आकर्षण गर्नुपर्ने बताए । उनले भारतीय आयल कर्पोरेसन र नेपाल आयल निगमबीच नयाँ सम्झौता भएपश्चात् नेपालमा तेलको सङ्कट नहुने जिकिर गरे।
भारतमा भइरहेको निर्वाचनका कारण भारुको समस्या बढेको जनाउँदै केही समयमै नेपालमा रहेका सबै भारु साटिने समेत उनले बताए । उनले भारतबाट नेपालमा फोन गर्दा महँगो परेको जनाउँदै सो घटाउन भारत सरकारसँग पहल गरिरहेको र भारतीय पक्षबाट कुनैपनि समस्या भए तत्काल आफूलाई सम्पर्क गर्न पनि आग्रह गरे।
राजदूत उपाध्यायलाई रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंह, भैरहवा भन्सार कार्यालय प्रमुखलगायत व्यापारी प्रतिनिधिले सीमा क्षेत्रमा लागुऔषधको समस्या समाधान, डिडी र विनविन कम्पनीको नाममा भइरहेको मानव तस्करी रोकथाम, भारतमा बैंक खाता खोल्दाको समस्या जस्ता विषयमा सहजीकरण गरिदिन आग्रह गरेका थिए । सो अवसरमा सांसद अब्दुल रज्जाकसहित विभिन्न सङ्घसंस्थाका प्रमुखको सहभागिता रहेको थियो । रासस
प्रतिक्रिया