काठमाडौं । फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सले निष्काशन गरेको साधारण सेयर बाँडफाँडका दौरान अनियमितता भएको भन्दै छानबिनका लागि धितोपत्र बोर्डमा उजुरी परेको छ । एउटै आवेदन नम्बरबाट धेरै फराम संकलन गरी बाँडफाँड प्रकृयामा भएका गल्ती ढाकछोपको प्रयास भएको भन्दै साना लगानीकर्ताहरुलाई न्याय दिलाउन उजुरी मार्फत बोर्डसमक्ष आग्रह गरिएको छ ।
फरवार्ड कम्युनिटीको सेयरमा एउटै आवेदन नम्बर भएका कतिपय सेयरधनीले एक जनालाई परेको सेयर आफुले पनि पाउनु पर्ने दाबी गर्दै लक्ष्मी भट्टराई, सञ्जय भण्डारी र यसोदा न्यौपानेले धितोपत्र बोर्डमा निवेदन दिएका हुन् ।
निवेदनबाट माइक्रोफाइनान्सको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिंगले कसरी एउटै आवेदन नम्बर राखेर एकभन्दा बढी आवेदन फारम लगानीकर्तालाई बितरण गर्यो अनि किन एक जनालाई मात्र सेयर बितरण गरियो भन्ने सम्बन्धमा छानबिनका लागि आग्रह गरिएको सञ्जय भण्डारीले बताए ।
यस सम्बन्धमा समाचारहरु सार्वजनिक भए पछि नबिल इन्भेष्टमेण्ट बैंकिङगले आवेदन नम्बरमा आधारित नतिजा लुकाएर हितग्राही खाताका आधारमा मात्र नतिजा हेर्ने व्यवस्था मिलाएबाट सेयर बाँडफाँडमा गम्भीर त्रुटी भएको दाबी समेत गरेका छन् । यस्तो छ धितोपत्र बोर्ड तथा नबिल इन्भेष्टमेण्टमा बुझाइएको निवेदन ।
‘फरवार्ड कम्युनिटीको सेयरमा मैले भाउजुहरु लक्ष्मी भट्राई, यसोदा न्यौपाने र म स्यम् सञ्जय भण्डारीले आवेदन गरेको तीन वटै आवेदन नम्बरमा अर्कै व्यक्तिलाई सेयर परेको देखिन्छ । यो कसरी भयो ? मेरो आवेदन नम्बरमा सेयर परेको भए मैले पाउनु पर्छ, धितोपत्र बोर्डले यसमा छानबिन गर्ने अपेक्षा सहित हामीले निवेदन दिएका हौं ।’ आवेदक भण्डारीले भने । उनले सामान्य लगानीकर्ता यस्ता किसिमका समस्या पर्दा चुप लागेर बस्ने गरेको भन्दै कुनै पनि किसिमको समस्या आएको खण्डमा धितोपत्र बोर्डलाई जानकारी गराउन आग्रह पनि गरेका छन् ।
फरवार्ड कम्युनिटीको सेयरमा १७०५७ नम्बरको आवेदनबाट लक्ष्मी भट्टराई, १७०५८ नम्बरको आवेदनबाट सञ्जय भण्डारी र १७०५९ नम्बरको आवेदनबाट यसोदा न्यौपानेले सेयर आवेदन गरेका थिए । नबिल इन्भेष्टमेण्ट बैंकिंगले आफ्नो वेबसाइटमा पहिलो पटक राखेको सेयर बाँडफाँडको नतिजा हेर्दा १७०५७ नम्बरको आवेदनबाट राजन श्रेष्ठ, १७०५८ नम्बरको आवेदनबाट गौरीशंकर श्रेष्ठ र १७०५९ नम्बरको आवेदनबाट रुपक धनवन्तरीलाई सेयर परेको देखिएको थियो । यस सम्बन्धमा समाचार सार्वजनिक भए पछि उसले उक्त नतिजा वेबसाइटबाट हटाएर हितग्राही खाताबाट मात्र नतिजा हेर्न सकने बनाउँदै कमजोरी लुकाउने प्रयास गरेको थियो ।
प्रतिक्रिया