काठमाडौं । नेपाल धितोपत्र बोर्डमा काम गर्ने कर्मचारीहरुले दोस्रो बजारमा सेयर कारोबार गर्न नपाउने भएका छन् । बोर्डले आचार संहिता लागू गर्दै आफ्ना कर्मचारीलाई सेयर कारोबारमा प्रतिबन्ध लगाएको छ । तर सो आचार संहिताले आइपीओमा लगानी गर्नका लागि भने छुट दिएको छ ।
धितोपत्र बोर्डका कर्मचारीहरु सेयर बजारमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहभागि हुँदा बजार समय समयमा प्रभावित हुने गरेको भन्ने गुनासो आएकोले सो आचार संहिता लागु गरेको जनाएको छ । आचार संहिता लागू हुनुभन्दा अघि सेयर खरिद गरेको भए सोको विवरण ३० दिनभित्र बोर्डमा बुझाउन पनि बोर्डले कर्मचारीहरुलाई निर्देशन दिएको छ ।
बोर्डको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले “नेपाल धितोपत्र बोर्डका कर्मचारीहरुको आचारसंहिता, २०७३” लागु गर्ने निर्णय गरेको हो । सञ्चालक समितिले पुँजी बजारमा सुशासन कायम गर्दै जाने क्रममा अभ्यक्ष सहितलाई लागु हुने गरी आचारसंहिता जारी गरेको हो ।
सो आचार संहिता लागु भएसँगै कर्मचारीले आफ्नो सेवा अवधिभर आफ्नो वा आफ्नो एकाघरको परिवारकोे नाममा बोर्डबाट अनुमतिपत्र प्राप्त गरेका संस्थाको संस्थापक शेयरमा लगानी गर्न नपाउने, सूचिकृत संगठित संस्थाको शेयर दोस्रो बजारबाट खरिद गर्न पनि नपाउने भएका छन् ।
त्यस्तै एफपीओ खरिद गर्न नहुने तथा यो आचार संहिता लागू हुनुभन्दा अघि बोर्डका कर्मचारीले आफ्नो वा श्रीमान श्रीमती र अठार वर्ष नपुगेका छोरा छोरीको नाममा सेयर खरिद गरेको भए सोको विवरण ३० दिनभित्र बोर्डमा बुझाउनु पर्ने छ ।
कर्मचारीले बोर्डबाट अनुमति लिएका संस्थाको भोजभतेरमा सहभागी हुन नहुने, कुनैपनि देशको पीआर लिएको वा लिन खोजिएको भए आचार संहिता लागु भएको ३० दिनभित्र बोर्डमा जानकारी दिनुपर्ने । आचार संहिता उल्लंघन गरेमा नेपाल धितोपत्र बोर्ड कर्मचारी सेव शर्त नियमावली, २०६८ को परिच्छेद–१३ बमोजिम सजाय गरिने बोर्डले जनाएको छ ।
प्रतिक्रिया