काठमाडौँ । अपि पावर कम्पनी लिमिटेडको दोस्रो विशेष साधारणसभाले सेयरधनीलाई एक बराबर दुई कित्ता अर्थात् २०० प्रतिशत हकप्रद सेयर दिने प्रस्ताव पारित गरेको छ । यसअघि नै कम्पनीले सो प्रस्ताव साधारणसभाबाट पारित गराई २०७३ बैशाख २७ गते नेपाल धितोपत्र बोर्डमा अनुमतिका लागि निवेदन दिएको थियो । बोर्डले नियामक निकाय नभएको कम्पनीहरुको लागि छुट्टै नियम ल्याउने भन्दै केही समय अनुमति रोकेको थियो ।
पुनः बोर्डले विभिन्न मापदण्डहरु राखी सो मापदण्ड पुरा गरेको खण्डमा मात्र हकप्रद निष्कासनको लागि अनुमति दिने बताएको थियो । सोही मापदण्ड पुरा गरेकोले अपी पावर कम्पनीले २०० प्रतिशत हकप्रद सेयर जारी गर्न प्रस्ताव विषेष साधारणसभाबाट पारित गराएको छ । सोही प्रस्ताव नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएपछि कार्यान्वयनमा ल्याउने तयारी पनि कम्पनीले गरेको छ ।
कम्पनीको हालको सेयर संख्या एक करोड पाँच लाख कित्ता रहेको छ । यसबाट विद्यमान १ सेयर बराबर दुई सेयरका दरले हकप्रद सेयर निस्काशन गर्ने प्रस्ताव पारित भएको कम्पनीका अध्यक्ष गुरुप्रसाद न्यौपाने जानकारी दिए ।
प्रस्तावित सेयर निस्काशनबाट प्राप्त हुने जम्मा दुई अर्ब १० करोड रकम मध्ये एक अर्ब सिद्धकाली पावर लिमिटेड कम्पनीले प्रवद्र्धन गर्न लागेको त्रिशुली गल्छी जलविद्युत् आयोजनामा लगानी गरिनेछ भने एक अर्ब १० करोड रकम भने विभिन्न सौर्य परियोजनामा लगानी गर्ने तयारी गरिएको छ ।
यस्तै अपि पावर कम्पनीको हालको चुक्ता पूँजी एक अर्ब पाँच करोड र जारी पूँजी तीन अर्ब रहेकोमा पूँजी वृद्धि गरी जारी पूँजी चार अर्ब कायम गर्ने प्रस्ताव पनि विशेष साधारणसभाले पारित गरेको छ ।
कम्पनीको पूँजी संरचनामा परिवर्तन भएको हुँदा सो अनुकुल हुने गरी प्रबन्धपत्रमा संशोधन गर्ने तथा सो सम्बन्धी कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई दिइनेछ ।
प्रतिक्रिया