काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सले बोनस सेयर २५ प्रतिशत दिने भएको छ । यसअघि कम्पनीले २८ औ बार्षिक साधारणसभाबाट शतप्रतिशत हकप्रद जारी गर्ने निर्णय पारित गराएपनि २०७५ सम्ममा जीवन बीमा कम्पनीहरुले २ अर्ब चुक्तापुँजी पुर्याउनुपर्ने बाध्यात्मक निर्देशन जारी गरेपछि कम्पनीले २५ प्रतिशत बोनस दिने निर्णय गरेको हो । कम्पनीको यो निर्णयले एकैबर्ष कम्पनीका लगानीकर्ताले दुईपटक बोनस पाउने भएका छन् ।
यही आर्थिक वर्षमा नै कम्पनीले आर्थिक बर्ष ०७१\०७२ को मुनाफाबाट ३० प्रतिशत बोनस वितरण गरेर चुक्ता पुँजी एक अर्ब ३२ करोड ४८ लाख ६३ हजार रुपैयाँ पुर्याएको छ । लगानीकर्तालाई आर्थिकबर्ष ०७२\०७३ को मुनाफाबाट २५ प्रतिशत बोनस प्रस्ताव गरेर हकप्रदको मात्रा कम्पनीले घटाएको छ ।
अब कम्पनीले ७५ प्रतिशत मात्र हकप्रद निष्कासन गर्ने छ । कम्पनीले ९९ करोड ३६ लाख बराबरको हकप्रद बिक्री गर्ने छ भने ३३ करोड १२ लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्नेछ । कम्पनीको ७५ प्रतिशत हकप्रद र बोनसपछि पूँजी दुई अर्ब ६४ करोड नाघ्ने छ ।
कम्पनीले प्रस्ताव गरेको हकप्रद तथा बोनस बीमा समितिको स्वीकृतिपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई बिक्री तथा वितरण गरिने कम्पनीले जनाएको छ ।
नेशनल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा आठ करोड ५० लाख आठ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
प्रतिक्रिया