काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले सानो पूँजी लगानी भएका उद्योगहरूलाई प्रोत्साहन गर्न नसकेसम्म मुलुकको अर्थतन्त्र फष्टाउन नसक्ने बताएका छन् ।
लघु, घरेलु तथा साना उद्योगहरुको उत्पादनलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा प्रवद्र्धन गर्ने उद्देश्यले विहीबारदेखि राजधानीमा शुरू भएको ‘नेपाल १३ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा नवीनतम प्रविधि प्रदर्शनी–२०७४’ को उदघाटन गर्दै उनले मुलुकको आर्थिक विकासका लागि लघु, घरेलु तथा साना उद्योगको प्रवद्र्घन र विकास आवश्यकता औंल्याए ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ, विज्ञान तथा प्रविधि मन्त्रालय र उद्योग मन्त्रालयले संयुक्त रूपमा आयोजना गरेको मेलामा उहाँले नेपालको आर्थिक रूपान्तरण, परम्परागत कृषि पेशालाई आधुनिकीकरण र व्यवसायीकरण नगरेसम्म मुलुकको आर्थिक समृद्घि सम्भव नभएको बताए ।
मुलुकको आन्तरिक उत्पादनलाई बढाएर आयात प्रतिष्थापन गर्न सकिने भन्दै मन्त्री महराले ग्रामीण क्षेत्रमा रहेका घरेलु तथा साना उद्योगहरू सुदृढ नभएसम्म मुलुकको आन्तरिक उत्पादनलाई बढाउन सम्भव नहुने बताए ।
लघु, घरेलु तथा साना उद्योगहरू अर्थतन्त्रको मेरूदण्ड भएको भन्दै उनले सरकारले ल्याउन लागेको आगामी बजेटले यस्ता विषयलाई सम्बोधन गर्ने आश्वासन दिए ।
उनले लघु, घरेलु तथा साना उद्योगको विकासका लागि ठोस कार्यक्रम ल्याईने प्रतिबद्धता पनि व्यक्त गरे ।
मुलुक लामो समयसम्म राजनीतिक खिचातानीबाट गुज्रँदै आएको भन्दै उहाँले राजनीतिक परिवर्तनको यात्रा पुरा भएकाले अब सम्पूर्ण ध्यान आर्थिक विकास र समृद्घिको यात्रामा लगाउनुपर्नेमा उनले जोड दिए ।
विज्ञान मन्त्री प्रेमबहादुर सिंहले मुलुकमा रहेका साधन स्रोत र प्रविधि पर्याप्त हुँदा पनि तिनको आवश्यक अनुसन्धान र विकास गर्न नसकेका कारण दिगो विकास र समृद्घि हासिल गर्न नसकिएको बताए ।
मुलुकको दिगो विकास र समृद्घिका लागि कृषि, पर्यटन, उद्योग, शिक्षा, स्वास्थ्यलाई विज्ञान प्रविधिसँग जोडेर मात्र अगाडि बढ्न सम्भव भएको उनको भनाई थियो ।
मुलुकमा रहेको रैथाने प्रविधि र सीपको आधुनिकीकरण, संरक्षण र हस्तान्तरणबाट मुलुकको आर्थिक समृद्घि सम्भव भएको उनले बताए ।
महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले नेपालमा लघु घरेलु तथा साना उद्योगहरू प्रविधि प्रयोग र क्षमताका हिसाबले प्रतिस्पर्धी बन्न नसकी उद्योगमा पुस्ता हस्तान्तरण हुन नसकेको भन्दै थुप्रै युवा वैज्ञानिक र अनुसन्धानकर्ताहरुले विभिन्न किसिमका प्रविधि तथा उपकरणहरुको आविष्कार, खोज, अनुसन्धान र आविष्कारहरु उद्योगसंग जोडिइ समुचित उपयोग र प्रवद्र्धन हुन नसकेको बताए ।
लघु, घरेलु तथा साना उद्योगहरु छरपष्ट भएर रहेका कारण यस्ता उद्योगहरुले प्राप्त गर्नुपर्ने विविध खालका सहयोग, सेवा र सुविधाहरु प्राप्त गर्न नसकिरहेको भन्दै अध्यक्ष गिरीले यस्ता उद्योगहरुलाई संस्थागत गर्न भौगोलिक अवस्था हेरी स्थानीय निकाय तहमै लघु उद्योग ग्राम, घरेलु उद्योग ग्राम, महिला उद्योग ग्राम, हस्तकला उद्योग ग्राम जस्ता संस्थागत संरचनाहरुमा उद्योगलाई स्थानान्तरण गर्न जरुरी रहेको बताए ।
लघु, घरेलु तथा साना उद्यमीहरु परम्परागत वस्तु उत्पादनमै सीमित रहेकाले ढाका, पश्मिना, सेरामिक, हस्तकला जस्ता वस्तु उत्पादन गर्ने कार्यलाई मात्र निरन्तरता दिइरहेको तर कृषि, गैह्रकाष्ठजन्य बन, जडिबुटी तथा प्राकृतिक रेशाजन्य बस्तु, खनिजजन्य वस्तु (जेम्सस्टोन, महंगा पत्थरहरु), पर्यटन, बैकल्पिक तथा नवीकरणीय ऊर्जा, सूचना तथा संचार प्रविधि लगायत स–साना जलविद्युतमा आधारित तुलनात्मक लाभका क्षेत्रमा उद्योग व्यवसाय गर्ने तर्फ पर्याप्त ध्यान दिन नसकिएका कारण उद्योग तथा व्यापारका क्षेत्रमा संकुचन आएको अध्यक्ष गिरीले बताए ।
प्रदर्शनीमा २१५ वटा स्टल रहेकोमा ५७ वटा बैज्ञानिक खोज, अनुसन्धान र नवीनतम प्रविधिसंग सम्बन्धित स्टलहरु रहेका छन् भने केन्द्रीय महिला उद्यमी प्याभिलियनमा २५ वटा, बन तथा कृषि सहज कार्यक्रमका १० वटा, राष्ट्रपति महिला उत्थान कार्यक्रमबाट प्रर्वद्धित १० जना महिला उद्यमीहरु त्यसैगरी भारत, पाकिस्तान, बंगलादेश र चीनका समेत गरी ३० वटा स्टलहरु रहेका छन र बाँकी स्टलमा नेपालका लघु, घरेलु तथा साना र राष्ट्रिय उद्योगका औद्योगिक उत्पादनहरुको प्रदर्शनी गरिएको छ ।
यसैगरी यस प्रदर्शनीमा करिव ६ करोडको आर्थिक कारोवार हुने र करिव १ लाखले प्रदर्शनीको अवलोकन गर्ने अनुमान गरिएको छ । यसका अलावा प्रदर्शनी अवधिमा अनुसन्धानकर्ता, उद्यमी र सरोकारवाला निकाय बीच ‘इनोभेशन टेक्नोलोजी एण्ड इन्टरप्राइज’ विषयक अन्तरक्रिया, महिला उद्यमशिलताको विकासमा सरकारी निकायहरुको भूमिका विषयक छुट्टाछुट्टै अन्तरक्रिया कार्यक्रमहरु संचालन हुनेछन् भने मेला भित्रको मेला रोजगारी मेला पनि संचालित रहेको छ ।
सोमबारसम्म चल्ने मेलाको माध्यमबाट नविनतालाई उद्योगसँग जोड्ने प्रयत्न स्वरुप यस व्यापार मेलामा छनौटमा परेका प्रदर्शनयोग्य तथा व्यवसायिकरण हुनसक्ने सम्भावनायुक्त प्रविधि, अनुसन्धान तथा आविष्कारहरूको प्रदर्शनी गरिने लक्ष्य लिइएको महासंघले जानकारी दिएको छ ।
प्रदर्शनीको एक लाख भन्दा बढीले अवलोकन गर्ने र करिब ६ करोडको आर्थिक कारोबार हुने लक्ष्य लिइएको छ ।
प्रतिक्रिया