वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

यसरी बाहिरियो मेगा बैंकको “कर्जा कमिसन काण्ड”

अर्थटुडे
२०७४ बैशाख २२, शुक्रबार

काठमाडौं । मेगा बैंकमा विस्तारै विभिन्न ठगीका केसहरु सार्वजनिक हुदै गइरहेका छन् । केही वर्षअघि तत्कालिन धादिङका ब्रान्च म्यानेजर राजेन्द्र पाण्डेसहित चार जनालाई ६ करोड रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले पक्राउ मुद्धा चलाएको थियो ।

यो काण्ड सेलाउन नपाउँदै मेगा बैंकमा अर्को यौटा घटना घटेको छ, जसलाई बैंककै म्यानेजमेन्ट टिमले लुकाएर राखेको छ । बैंकमा एकपछि अर्को घटना घट्दै जान थालेपनि बैंकले यसबारे वेवास्ता गर्दै आइरहेको छ ।

करिव २० दिन अगाडीको कुरा हो । मेगा बैंकले कर्जा तथा लगानीका प्रमूख विपुल रायमाझी सहित भैरहवा शाखाका ब्रान्च म्यानेजर रामू पन्थीलाई पनि निष्कासन गरेको छ । रामू पन्थीलाई प्रयोग गरी विपुल रायमाझीले आफ्नै ग्राहकसँग कमीसन खाएको प्रमाण फेला परेपछि बैंकले ति दुबैलाई कारबाही स्वरुप निष्कासन गरेको हो ।

रायमाझीलाई मेगा बैंकका डेपुटी सिइओ अनुपमा खुन्जेलीले आफ्नै मातहतमा काम गर्नेगरी ल्याएकी थिइन् । पहिले रायमाझी बैंकको अप्रेसन डिपार्टमेन्टको प्रमूख भएपनि पछि विस्तारै सवैलाई पाखा लगाउँदै अगाडी बढेका थिए । उनले शम्भू थापालाई ठगी आरोपमा फसाएपछि कर्जा तथा लगानी विभागको प्रमूखको जिम्बेबारी सम्हाल्दै आएका थिए ।

चिल्ला कुरा गरेर हाकिमलाई फसाउन माहिर रायमाझीले भैरहवाका ब्रान्च म्यानेजर रामू पन्थीलाई प्रयोग गरी व्यापारीलाई ऋण मिलाएर कमीसन खाएका थिए । बुटवलको पन्थि फिड नामक कम्पनीलाई व्यापार व्यवसाय गर्नको लागि सूरुमा १९ करोड ऋण मिलाइ दिएबापत उनले कमीसन खाएका थिए ।

पन्थी फिडले फुडका प्रकारहरुको व्यापार गर्ने भएकोले राम्रो व्यपार हुदै गएको थियो । ति व्यापारीले पनि रायमाझीलाई भनेर बेला बेलामा ऋण थप्दै लगेका थिए । मेगा बैंकका उपल्लो हाकिमहरुलाई भनेर रायमाझीले सो कम्पनीलाई ऋण दिदै गए । मेगा बैंकले पन्थि फिडलाई ४९ करोड रुपैयाँसम्म ऋण दिइसकेको थियो ।
यसरी बाहिर आयो कमिसन आएको तथ्य
एकदिन अचानक एक भैरहवाको व्यापारी मेगा बैंकमा आए । उनले आफूलाई पन्थि फिड नामक कम्पनी मालिक र रायमाझी मिलेर फसाउन लागेको कुरा बैंकका डेपुटी सिइओ अनुपमा खुल्जेलीसँग भने । भैरहवाका ति व्यापारीले (भैरहवाको व्यापारीको नाम लुकाइएको छ ।) आफूपनि मेगा बैंकको ग्राहक रहेको र मेगा बैंकबाट ऋण लिदा रायमाझीको खातामा पटक पटक कमीसन स्वरुप रकम हालिदिने गरेको बताए । उनले पहिलो पटक तीन करोड लिदा २ लाख र पछिल्लो पटक करिब १० करोड ऋण लिदा ८ लाख रुपैयाँ कमिसन दिएको समेत सप्रमाण पेस गरे ।
किन आए भैरहवाका व्यापारी मेगा बैंकमा ?
भैरहवाका ति व्यापारी पनि फुडहरुको आइटम बनाएर नै विक्रि गर्ने गर्दथे । ऋण लिन आउने सिलसिलामा नै पन्थि फिडका मालिकले रायमाझीसँग चिनजान गराइदिएका हुन् । रायमाझी, पन्थि फिडका मालिक र भैरहवाका ति व्यापारीको राम्रो दोस्ती थियो । रायमाझीले जति चाहेपनि ऋण मिलाउन सक्ने भएकोले पन्थि फिडका मालिकले पछिल्लो समयमा जग्गा प्लटिङ गर्नका लागि रकम खन्याउन थाले ।

विस्तारै ऋण तिर्न नसक्ने अवस्था आउन थालेपछि पन्थी फिडकै मालिकको आग्रहमा रायमाझीले भैरहवाका व्यापारीलाई कल गरेर एक महिनाका लागि पन्थी फिडलाई तीन करोडको धान उधारोमा दिनको लागि आग्रह गरे । उनले पन्ध्र दिनमा पैसा मिलाइदिने आश्वासन पनि दिए ।

सो आश्वासन पाएपछि भैरहवाका व्यापारीले पन्थी फिडलाई तीन करोडको धान दिए जुन पन्थी फिडका मालिकले बैंकका कर्मचारीहरु फिल्ड भिजिटमा आउदा देखाउनको लागि मात्र राखेका थिए । सो देखाएपछि पाएको ऋण पनि पन्थी फिडका मालिकले जग्गामा लगानी गरेपछि आफ्नो रकम डुव्ने भयो भन्दै भैरहवाका व्यापारी मेगा बैंकमा आएका थिए । बैंकमा आएपछि उनले रायमाझीलाई दिएको कमीसनको सम्पुर्ण रसिद नै देखाइदिएका थिए ।

यो कुरा बाहिर आएपछि रायमाझी र अनुपमाको निक्कै ठूलो झगडा भएको थियो । र पछि बुटवलका ब्रान्च म्यानेजरको पनि गल्ती रहेको भन्दै रायमाझी र पन्थीलाई बैंकले निकालिदिएको छ । तर यस कुरालाई म्यानेजमेन्ट टीमले भित्र नै दवाएर राखेको छ ।

यसबारे प्रतिक्रिया लिन खोज्दा बैंकका प्रमूख कार्यकारी अधिकृत अनिल शाह र प्रमूख सुचना अधिकारी रविना देशराजले फोन उठाएनन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ