काठमाडौं । आगामी आर्थिक वर्ष २०७४ को बजेटमा नयाँ कार्यक्रम नआउने भएको छ । सोमबार अर्थमन्त्री कृष्ण बहादुर महराले पत्रकार सम्मेलन गरी आगामी आर्थिक बर्षको बजेटमा सरकारले कुनै पनि नयाँ कार्यक्रम समावेश नगर्ने स्ष्ट पारेका हुन् । उनले बजेटमा नयाँ कार्यक्रम नल्याउने भएपनि बजेट भने आंशिक नभएर पूर्ण स्वरुपको नै हुने उनले बताए ।
बजेटमा नयाँ कार्यक्रमहरु समावेस गर्दा राजनीतिक दलहरुसँग भएको सम्बन्ध पनि बिग्रन सक्ने भएकोले पुरानै कार्यक्रमलाई निरन्तरता दिने उनले बताए । यसअघि चुनावलाई प्रभावित गर्ने गरी बजेटमा कुनै पनि नयाँ कार्यक्रम नल्याउने विषयमा प्रमुख तीन दलबीच समझदारी बनेको थियो ।
आगामी बजेटमा राष्ट्रिय गौरवका आयोजनालाई विशेष प्राथमिकता दिइने बताउँदै अर्थमनत्री महराले भने, ‘पुनर्निर्माण र राष्ट्रिय गौरबका आयोजनालाई विशेष प्राथमिकतामा राखेका छौं र प्रदेशको चुनावका लागि पनि रकम छुट्याइने छ ।’ जेठ १५ भित्रै बजेट ल्याउनु पर्ने संवैधानिक व्यवस्था अनुसार यो सरकारले अहिलेको बजेट सार्वजनिक गर्न लागेको पनि मन्त्री महराले बताए ।
यसअघि निर्वाचन आयोगले जेठ १५ मा आगामी आर्थिक वर्षको बजेट ल्याउन निर्वाचन आचार संहिताले नरोक्ने बताएको थियो । सोही कारण सरकारले बजेट निर्माणको काम अघि बढाएको छ । महराका अनुसारा संविधान कार्यान्वयनको लागि पनि बजेट ल्याउनु आवश्यक भएको छ । उनले भने ‘यो सरकारको प्रमुख उद्देश्य भनेको राजनीतिक दलहरु बिचको विवाद अन्त्य गर्ने हो, त्यसैले हामीले राजनीतिक सन्तुलन कायम गरेर बजेट घोषणा गर्छाैं ।’
अहिले अर्थमन्त्रालय प्रादेशिक सरकारमा प्राकृतिक स्रोत तथा रकम के—कसरी बाँडफाड गर्ने भनेर वित्तीय आयोग निर्माण गर्ने चरणमा छ, अर्थमन्त्री महराले भने ।
प्रतिक्रिया