काठमाडौं । आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्मालाई विशेष अदालतले अनुसन्धानका लागि सात दिनको म्याद थपेको छ । म्याद थपिएपछि अख्तियारलाई शर्मामाथि थप बयान र अनुसन्धान गर्न बाटो खुलेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार म्याद थपका लागि शर्मालाई आइतबार विशेष अदालत पुर्याएको थियो ।
शर्मालाई शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेर हिरासतमा राखेको थियो भने आइतबार अदालत खुल्ने वित्तिकै म्याद थपका लागि पुर्याइएको थियो ।
विषेष अदालतमा शर्माले सरकारले गठन गरेको कर फर्छ्यौट आयोगमा सरकारी म्यान्डेट अनुसार नै आफुले काम गरेको दाबी गरेका छन् । अख्तियारप्रति आक्रोश पोख्दै उनले भने, ’सरकारले विधीसम्मत गठन गरेको आयोगमा बसेर हामीले काम गरेका हौँ र अहिले (अख्तियारको कदमले) सरकार र बिधी निर्माण गर्ने संसदको अपमान गरेको छ’ ।
शर्मा सदस्य रहेको फर्छ्यौट आयोगले राज्यले उठाउन बाँकी ३० अर्ब रुपैयाँ राजश्वमा २१ अर्ब छुट दिएपछि अख्तियारले उनलाई पक्रिएर हिरासतमा राखेको थियो । उनले कर फर्छ्यौट आयोग मार्फत ब्याज मिनाहा वाहेक जनताबाट उठाएको भ्याट वापतको रकम समेत ब्यापारीलाई फिर्ता दिएकोमा अख्तियारले बढी चासो राखेर बयान लिइरहेको पाइएको छ ।
प्रतिक्रिया