काठमाडौं । गर्भनर डा. चिरञ्जिवी नेपालले अब राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको प्रभावकारी सूपरिवेक्षणमा जोड दिने बताएका छन् । गरिमा विकास बैंकको केन्द्रीय कार्यालय उद्घाटन गर्दै उनले तोकेको पूँजी पुर्याउने बाटोमा बैंकहरु अघि बढेको भन्दै खुसी व्यक्त गरे ।
कार्यक्रममा उनले बैंकिङ क्षेत्र नाफा कमाउने व्यवसाय नभएको र नाफा कमाउने भने अन्य व्यवसायमा लाग्न आग्रह समेत गरे ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले सेवाग्राहीलाई उत्कृट वित्तीय सेवा सहज रुपमा दिन बैंकले कुनै कन्जुस्याई नगर्ने बताए । ‘हामी उत्कृट सेवा दिने लक्ष्यका साथ आक्रामक उपस्थिती जनाउँदैछौं । काठमाण्डौं स्थानान्तरण यसको पहिलो सुरुवात हो’ प्रमुख कार्यकारी अधिकृत ढकालले भने ।
पोखराबाट काठमाण्डौंको लाजिम्पाटमा आफ्नो मुख्य कार्यालय स्थानान्तरणको सबै प्रकृया पुरा गरि गत चैत २७ देखि लाजिम्पाटबाट बैंकले अनौपचारिक रुपमा सेवा सुरु गरेको थियो ।
आर्थिक बर्ष २०७३\७४ को यस अवधिसम्म बैंकले १३ अर्ब ९५ करोड रुपैंया निक्षेप संकलन तथा १२ अर्ब ९० करोड रुपैंया कर्जा प्रवाह गरि ४२ करोड १६ लाख संचालन आम्दानी गरेको छ । केही समय अघिमात्रै १० बराबर ७ (१०ः७) को अनुपातका हकप्रद शेयर निष्काशन गरेको बैंकको हालको चुक्ता पूँजी २ अर्ब १६ करोड ९६ लाख ५१ हजार ६ सय ९ रुपैंया रहेको छ ।
यसै बिच बैंकले शुक्रबार नै चाबहिलमा आफ्नो शाखा समेत बिस्तार गरेको छ । नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तिय संस्था नियमन विभागका कार्यकारी निर्देशक नारायण प्रसाद पौडेलले चाबहिल शाखाको उद्घाटन गरे ।
प्रतिक्रिया