काठमाडौं । नेपाल धितोपत्र बोर्डले मर्चेन्ट बैंकरको चुक्तापुँजीसँगै कार्यक्षेत्र पनि बढाएको छ । अर्थ मन्त्रालयको स्विकृतीमा मर्चेन्ट बैंकरको चुक्ता पुँजी ३ गुणाभन्दा बढीले वृद्धि गरेर कार्य क्षेत्र पनि विस्तार गरिएको छ ।
बोर्डले धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) नियमावली २०६४ संशोधन गरी धितोपत्र व्यवसायी नियमावली २०७४ लागू गरिएको हो । जसअनुसार अब निष्कासन तथा बिक्री प्रबन्धकको काम गर्ने मर्चेन्ट बैंकरको न्यूनतम चुुक्ता पुँजी ३ करोडबाट बढाएर ५ करोड पुर्याइएको छ भने धितोपत्र प्रत्याभूतिकर्ता (अन्डरराइटर) को चुक्ता पुँजी ४ करोड रहेकोमा अब ७ करोड पुर्याउनुपर्नेछ । यसैगरी, सेयर रजिष्ट्रारको १ करोड रहेकोमा ३ करोड, लगानी व्यवस्थापकको १ करोडबाट ५ करोड र संस्थागत परामर्शदाताको ३ करोड हुने व्यवस्था गरिएको छ ।
यसैगरी मर्चेन्ट बैकर अब भेञ्चर क्यापिटल, प्राइभेट इक्विटी, हेज फन्डजस्ता कोष सञ्चालनको काम पनि गर्न पाउने भएका हुन् । यसैगरी, परामर्शदाताको काम पनि गर्न पाउनेछन् । सम्पत्ति व्यवस्थापनलगायतका बिषयमा परामर्श सेवा प्रदान गर्ने सम्बन्धी संस्थागत परामर्शदाताको रुपमासमेत कार्य गर्न सक्ने गरी मर्चेन्ट बैंकरको कार्य क्षेत्र विस्तार गरी दायरा फराकिलो बनाइएको धितोपत्र बोर्डले जानकारी दिएको छ । यसैगरी, संगठित संस्थाको संरचना हेरफेर, मूल्यांकन, व्यावसायिक योजना, लोन सिन्डिकेसन, वर्किङ क्यापिटल फाइनान्सिङलगायतका काम पनि गर्न पाउने व्यवस्था गरिएको छ । यसअघि मर्चेन्ट बैंकरहरुले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकसहित धितोपत्र प्रत्याभूति (अन्डरराइटिङ), सेयर रजिष्ट्रेसन र लगानी व्यवस्थापन सम्बन्धी काम गर्दै आएका थिए ।
यसैगरी निष्कासन तथा विक्रीप्रबन्ध सेवामा हुनसक्ने अस्वस्थ्य प्रतिस्पर्धालाई निरुत्साहित गर्न निष्कासन तथा विक्री प्रबन्धक सेवाको लागि १ लाख रुपैयाँभन्दा कम सेवा शुल्क लिन नपाइने व्यवस्था गरिएको छ ।
प्रतिक्रिया