काठमाडौं । महानगरपालिकाभित्र संचालनमा रहेका बैंक तथा वित्तीय संस्थाहरुले अब कर लागेको छ । महानगरले साउन १ गतेदेखि लागू हुनेगरी सो कर लागू गरको हो । महानगरपालिकाले बैंक तथा वित्तीय संस्थाहरुको हकमा प्रत्येक कारोवार स्थलमा कारोबारको आधारमा अलग अलग ईकाइ मानी कर असुल उपर गर्ने भएको छ । जसमा बैंक, बीमा, सहकारी र पैसा साटफेर गर्ने (मनिचेञ्जर) व्यवसाय समेत परेका छन् ।
जसअन्तगर्त वाणिज्य बैंकको मुख्य कार्यालयले बार्षिक ७५ हजार रुपैयाँ तथा विकास बैंक र बीमा कम्पनीहरुको मुख्य कार्यालयले समान ५० हजार रुपैयाँ तिर्नुपर्ने भएको छ । त्यस्तै आर्थिक कारोबार समेत गर्ने वित्तीय कम्पनी (फाइनान्स) को मुख्य कार्यालयले ३० हजार रुपैयाँ बार्षिक कर बुझाउनुपर्ने भएको छ । सहकारी संस्थाको मुख्य कार्यालयलाई भने तीन हजार रुपैयाँ तोकिएको छ ।
यसरी नै वाणिज्य बैंकको शाखा कार्यालयले ४० हजार, बीमा कम्पनीले ३० हजार, विकास बैंकले २५ हजार, फाइनान्सले १५ हजार, र सहकारी संस्थाका हरेक शाखा कार्यालयले दुई हजार रुपैयाँ कर तिर्नुपर्नेछ ।
सहकारी बैंक र अन्य वित्तिय कारोबार गर्ने संस्थालाई महानगरपालीकाले २५ हजार रुपैयाँ कर तोकेको छ । विदेशी मुद्रा सटही गर्ने (मनि चेञ्जर) कार्यालयले १० हजार रुपैयाँ बार्षिक कर तिर्नुपर्ने भएको छ ।
महानगरपालिले महानगर क्षेत्रभित्र दर्ता वा ईजाजत प्राप्त गरी स्थापित उद्योग, व्यापार, व्यवसाय, सेवा र जुनसुकै कारोबार गर्ने व्यक्ति वा निकायलाई व्यवसायको प्रकृति, आर्थिक कारोबार, स्थान विशेष र लगानीका आधारमा अनुसूची (४) बमोजिम व्यवसाय कर लगाएको जनाएको छ ।
महानगरपालीकाले सेयर दलाल, चिकित्सक, कानुन व्यवसायी, इन्जिनियर, बीमा एजेन्ट, लेखापरिक्षकहरुलाई न्यूनतम ३६० रुपैयाँदेखि अधिकतम क्यासिनो व्यवसायलाई १० लाख कर निर्धारण गरेको छ ।
महानगरपालिकाले संविधानको धारा २३० बमोजिम नगरसभाले असार ३१ गते पारित गरेको आर्थिक ऐन अन्तर्गत व्यवसाय करको दर निर्धारण गरी साउन १ गतेदेखि लागू गरिएपछि सबै खालका व्यवसायीले कर तिर्नुपर्ने भएको हो ।
प्रतिक्रिया