काठमाडौं । कोरियन कम्पनी एसवाई गु्रपले नेपालमा आफ्नो लगानी गरेको छ । एसवाइ प्यानल नामक कम्पनी स्थापना गरी सो ग्रुपले भूकम्पप्रतिरोधी घरहरुको निर्माण गरिरहेको छ ।
बुधबार एसवाइ प्यानलको औपचारिक उद्धघाटन गर्दै एसवाइ ग्रुपका अध्यक्ष होङ योङ दोनले नेपालको सामाजिक एवं आर्थिक विकासमा सहयोग गर्ने उद्देश्यले नेपाली बजारमा प्रत्यक्ष लगानी गर्ने निर्णय गरी आफूहरु नेपाल आएको बताए ।
उनले आफ्नो समूहले नेपाल लगायत दक्षिण एसियामै आवश्यक पर्ने स्यान्डवीच प्यानल र अन्य धेरै खालका निर्माण सामग्री उत्पादन गर्ने लक्ष्य लिएको समेत जानकारी दिए । उनले गु्रपका यसै वर्ष चितवनमा पनि ग्रुपको कम्पनी स्थापना गर्ने लक्ष्य राखेको जानकारी दिए । महाराजगञ्जमा सो ग्रुपद्धारा तयार पारेको प्रिफ्याबबाट बनाएको दुई तले घर समेत नमूना घरको रुपमा राखिएको छ ।
सो घरको उद्घाटन गर्दै उद्योगमन्त्री सुनिलबहादुर थापाले यस्ता भवन विशेषगरि सुरक्षाकर्मी र विद्यार्थीका लागि उपयोगी हुने बताए । ’सुरक्षाकर्मी पालमा बसेको २०÷३० वर्ष भइसक्यो तिनलाई यस्तो भवन बनाए आवासका लागि उत्तम हुनेछ’, उनले भने, ’भूकम्पले भत्काएका विद्यालयको विकल्पमा यस्तो भवन भरपर्दो हुन्छ । चाहिँदा बनाउने र पछि भत्काएर अन्तै सार्न पनि मिल्ने भएकाले प्रिफ्याब अबको आवश्यकता हो ।’
नेपाल राष्ट्र बैंकका निमित्त गभर्नर चिन्तामणि शिवाकोटीले भूकम्पप्रतिरोधी उत्कृष्ट उत्पादन भएकाले एसवाई ग्रुपलाई भित्र्याउन सहजीकरण गरेको जानकारी दिए । लगानी गरेका प्याब्सनका अध्यक्ष विजय सम्बाहाम्फेले पनि विद्यालय निर्माणमा प्रिफ्याबका भवन सस्तो, सहज र सुरक्षित हुने दावी गरे ।
प्रतिक्रिया