काठमाडौं । जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले फोहोर गर्नेलाई अब ‘अन द स्पट’ कारबाही गरेर दण्डित गर्नुपर्ने बताएका छन् । उनले वातावरणलाई स्वच्छ राख्नको लागि निर्दयी कदम चाल्नुपर्ने भएकोले आफू त्यसको लागि तयारी अवस्थामा रहेको बताए ।
रिपोर्टर्स क्लब नेपालमा वाग्मती बचाउ अभियान नेपाल र राधिका ट्रष्ट नेपालले संयुक्त रुपमा नवनियुक्त मन्त्रीद्धय लालबाबु पण्डित र थममाया थापालाई सम्मान गर्न आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री पण्डितले यस्तो बताएका हुन् । उनले भने,‘म ईमानदारीपूर्वक काम गर्छु, सबैको कुरा सुन्छु, देश र जनताको हितमा काम गर्छु।’
मन्त्री पण्डितले जनताले आफूले जिताएका प्रतिनिधिमार्फत देशको विकास र समृद्धि चाहेको भन्दै त्यसको लागि आफूहरुकाम गर्न तयारी अवस्थामा रहेको सुनाए । उनले भने,‘मैले वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालेको छु, काठमाडौंलाई धुलोबाट मुक्त बनाउनुछ, मलाई सबैले यही प्रश्न गर्नुहुन्छ, मास्क लाउन नपर्ने दिन कहिले आउँछ भनेर ? अब म छिट्टै केही निर्णय लिन्छु, अहिले आन्तरिक परामर्शमा व्यस्त छु।’ उनले मन्त्री हुनुभन्दा पहिलेपनि आफू बाग्मती सफाई अभियानमा सहभागी भएको स्मरण गराउँदै भने,‘अहिले बाग्मती केही सफा भएको छ, फोहोर गरे दण्डित गर्नुपर्छ, यसमा म अब कठोर भएर प्रस्तुत हुन्छु।’ मन्त्री पण्डितले बाग्मतीको पानी थोरै ठाउँमा हात हाल्न सकिने तर धेरै ठाउँमा हातै हाल्न नसकिने अवस्थामा रहेकोले अब यसलाई स्वच्छ बनाउन सफाई अभियानलाई तिव्रता बनाउने विश्वास दिलाए ।
उनले फोहोर गर्नुहुँदैन है भन्ने अवस्था सिर्जना गर्नुपर्ने बेला आएको सुनाए । उनले भने,‘अब फोहोर गर्नेलाई डण्डा चलाउनुपर्छ, अन द स्पट डण्डा हान्नुपर्छ।’ उनले अधिकार र कर्तब्य सँगसँगै आउने भएकोले जे गर्दा पनि मानवअधिकार उल्लंघन हुन्छ भनेर त्यतिकै बस्न नहुने धारणा राखे । पण्डितले भने,‘गाला सुमसुमाएर र रोएरमात्रै देश बन्छ त ? हेरक क्षेत्रका दण्डहिनताको अब अन्त्य गर्नुपर्छ।’ उनले वातावरणलाई स्वच्छ राख्न र मानवमैत्री वातावरण बनाउनको लागि आफू ऐन तथा नियम नै संशोधन गर्नपनि तयार रहेको सुनाए । उनले प्लाष्टिकको थुप्रोले विष्णुमतिको दोभानमा सगरमाथाको जस्तै चूचुरो बनाएकोले अब त्यस्ता खाले (प्लाष्टिकजन्य) उत्पादनहरुमा पनि ध्यान पुर्याउनुपर्ने बताउँदै भने,‘जस्तो चाउचाउको खोल कति समयभित्र डाईलुट हुन्छ ? यदि हुँदैन भने त्यस्ता उत्पादनहरुलाई बन्द गर्नपनि अब पछि हट्नुहुँदैन्।’
उनले फोहोर गर्ने काम कसले गरेको हो त भन्दै प्रश्न समेत तेर्साए । उनले भने,‘हामीले नै गरेको हो नि, यतातिर पनि ध्यान दिनुपर्छ, यो गलत काम गर्न अब कोही पनि अघि सर्नुहुँदैन।’ नेपालमा फोहोर गर्ने दायित्व मेरो हो तर सफा गर्ने दायित्व चाहीँ सरकारको हो भन्ने प्रवृत्ति देखिएकोले अब यसलाई तत्काल अन्त्य गर्नुपर्नेमा पनि उनले जोड दिए ।
महिला, बालबालिका तथा समाजकल्याण मन्त्री थममाया थापाले संविधान कार्यान्वयन गर्नेतर्फ मुलुक अघि बढेकोले अबको सरकारको मुख्य ध्येय नै विकास र समृद्धि भएको सुनाईन् । उनले वर्तमान सरकार जनअपेक्षा पूरा गर्ने दिशातर्फ अघि बढ्ने पनि विश्वास दिलाईन् । उनले भनिन्,‘वाम गठबन्धनको सरकार बनेको छ, राजनीतिक अस्थिरता समाप्त भएको छ, अब हामी संविधानको मर्म र भावना अनुसार नै नीति तथा कार्यक्रमहरु ल्याउँछौं।’
समाजमा अहिलेपनि व्याप्त रहेका सामन्तवादका रापतापलाई हटाएर समुन्नत समाजको निर्माण गर्नेमा पनि आफूहरु केन्द्रित हुने उनको भनाई थियो । उनले भनिन्,‘संविधानको मर्म अनुसार न्यायमूलक समाज बनाउने सोच छ, अबको मुख्य काम भनेको नै समृद्धि हो, विकास हो, नेपालीहरुलाई खुशी र सुखी बनाउने हो, हामी त्यतातिर केन्द्रित छौं।’
राष्ट्रिय सूचना आयोगकी आयुक्त यशोदा तिमल्सिनाले नवनियुक्त मन्त्रीद्धय पण्डित र थापाको नेपाली राजनीतिमा विशेष योगदान रहेकोले अहिले महत्वपूर्ण जिम्मेवारी सम्हालेको जनताको मन जित्नेगरि काम गर्न सुझाव दिईन् ।
उनले सूचना हकको बारेमा प्रकाश पार्दै सूचनाको पहुँच सबै नागरिकमा पुर्याउनुपर्नेमा समेत जोड दिईन् । उनले भनिन्,‘सूचनाको हक कार्यान्वयनको लागि सबै क्षेत्र जिम्मेवार बन्नुपर्छ, सरकारले कहाँ के गरिरहेको छ ? भन्ने कुरामा पनि जनताको सहज पहुँच हुनुपर्छ, यो विषयमा पनि माननीय मन्त्रीहरुले आ–आफ्नो क्षेत्रबाट योगदान पुर्याउनुहुनेछ भन्ने मेरो विश्वास छ।’
प्रतिक्रिया