वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

भत्केको धरहरा बन्नुपर्नेमा व्यापारिक भवनको जग खनियो, स्थानीयहरु आन्दोलित

अर्थटुडे
२०७४ फाल्गुन १६, बुधबार

काठमाडौं । २०७२ साल वैशाख १२ गते भत्केको नेपालको ऐतिहासिक धरोहर धरहरा निर्माण हुनुपर्नेमा यसकै मापदण्ड क्षेत्रभित्र धमाधम व्यापारिक भवन उठाउन जग खनिएको छ । काठमाडौं वडा नं ११ मा अवस्थित धरहराको कम्पाउण्डसँगै सडकको मापदण्डलाई समेत मिचेर भवनको जग खनिएको भन्दै स्थानीय तथा व्यापारीहरु यतिबेला आन्दोलित बनेका छन् ।

कुनै सूचना नै नदिई रातारात राष्ट्रिय सम्पदा नै नाश्नेगरी धरहराको मापदण्ड क्षेत्रभित्र बन्न लागेको संरचना निर्माण कार्य तत्काल रोकेर धरहराको निर्माण अगाडि बढाइनुपर्ने भन्दै उनीहरु विभिन्न निकाय धाईरहेका छन् । धरहरा बचाउ अभियान संघर्ष समिति नै बनाएर स्थानीयहरु आन्दोलित भएका हुन् ।

मंगलबार उनीहरुले पुरातत्व विभागका महानिर्देशकसहित पदाधिकारीहरुलाई भेटेर उक्त निर्माण संरचनाबारे अवगत गराउँदै ध्यानाकर्षण गराएका थिए । त्यस्तै बुधबार उनीहरुले वडा नं ११ का अध्यक्ष तथा जनप्रतिनिधिहरुलाई उक्त कार्यबारे ध्यानाकर्षण गराएका छन् ।

पुरातत्व विभागले धरहराको आसपासमा रहेको गुठी संस्थाले पार्किङगरी गुठीलाई आम्दानी गराउनसक्ने मौखिक स्विकृति दिएको तर संरचना बनाउन नदिएको बताएपनि बलजफ्तरुपमा राष्ट्रिय धरोहर मास्ने खेल भईरहेको उनीहरुको आरोप छ । यसबारे पुरातत्व विभागले रिपोर्ट पनि लिएर गईसकेको स्थानीयहरु बताउँछन् ।

मेरो धरहरा मै बनाउँछु भन्नेहरुले खोई चासो दिएका धरहरा बनाउन शुरु गर्नुपर्नेमा घर बनाउन शुरु गरेर हुन्छ । संघर्ष समितिका वेदप्रकाश गौतमले भने । अब धरहरा बन्दा खुला स्थान राखेर बनाईनुपर्छ । यो राष्ट्रको धरोहरलाई नमूना पर्यटकीय स्थल बनाईनुपर्छ, कम्पाउण्डभित्र व्यापारिक भवन बनाउने होईन ।

अन्य स्थानमा सडक छेउका करोडौं भवन भत्काउने सरकार के हेरेर बसेको छ, गुठीको जग्गा भन्दैमा सडक मिचेरै संरचना बनाउन पाउँछ । आक्रोशित स्थानीयले भने, विना सूचना अरुको घर अगाडि खालडो खन्न पाउँछ ।

स्थानीयले धरहरा अगाडि फागुन ३ गते जस्ता बारेपछि मात्र व्यापरिक भवन बन्न लागेको थाहा पाएको बताए । त्यसको सात दिनपछि डोजर ल्याएर खाल्डो खनेको र रातिको समय पारेर निर्माण कार्य अगाडि बढाईंदै लगेको उनीहरुले बताएका छन् ।

स्थानीय सुशिल विक्रम थापाले भने, विभिन्न विवादकाबीच यो जग्गा गुठीको नाममा आएको भन्ने बुझेको छु । तर नगरपालिकाले संरचना निर्माणमा कसरी स्विकृति दियो, अचम्ममा छौं ।

भू–माफियासँगको चलखेलका कारण उक्त निर्माण कार्य भईरहेको भन्दै आक्रोशित स्थानीयहरुले व्यापारिक भवन निर्माण कार्य रोकिएर तत्काल राष्ट्रिय सम्पदा धरहरा बनाईनुपर्ने माग गरेका छन् ।

पहिले भिमसेन स्तम्भको नामले प्रचलित धरहरा १९९० को भूकम्पले भत्काएपछि १२ तलाबाट धरहरा ९ तल्लामा सीमित गरिएको थियो । दोस्रोपटक निर्माण भएको धरहरा २०७२ वैशाख १२ को भूकम्पले भत्काएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ