काठमाडौं । साञ्जेन जलविद्युत्त कम्पनी र रसुवागढी जलविद्युत कम्पनीले कर्मचारी सञ्चयकोषका सञ्चयकर्ताका लागि निष्कासन गरेको साधारण सेयर (आइपीओ) आइतबार बाँडफाँड गरेको छ ।
ति दुवै कम्पनीले फागुन ११ देखि ३० गतेसम्म आवेदनका लागि सञ्चयकर्तालाई आव्हान गरेको थियो । साञ्जेनमा आवेदन गरेका सबै एक लाख ८५ हजार ३५ जना आवेदकलाई ३० कित्ताका दरले ५५ लाख ५१ हजार ५० कित्ता सेयर बाँडफाँड गरिएको छ ।
साञ्जेनले ७१ लाख १७ हजार ५०० कित्ता साधारण सेयर निष्काशन गरेकोमा एक लाख ८५ हजार ३५ जना आवेदकले चार करोड २० लाख ३१ हजार २०० कित्ता सेयर माग गरेका थिए ।
कम्पनीमा आवेदन गरेका एक लाख ८५ हजार ३५ जना आवेदकमध्ये एक लाख ५६ हजार ६४५ आवेदकलाई बाँकी रहेको १५ लाख ६६ हजार ४५० कित्ता सेयर थप १० कित्ताका दरले सेयर समेत पाएका छन् । एक लाख ५६ हजार ६४५ आवेदकले ४० कित्ता सेयर प्राप्त गरेका छन् भने २८ हजार ३९० जना आवेदकले मात्र ३० कित्ता सेयर प्राप्त गरे ।
त्यस्तै रसुवागढी जलविद्युत आयोजनाले सञ्चयकोषको सञ्चयकर्ताहरुका लागि जारी गरेको आईपिओमा ५० देखि ७० कित्तासम्म सेयर माग गरेका सञ्चयकोषका सञ्चयकर्ताले माग अनुसार नै सेयर प्राप्त गरेका छन् ।
८० कित्तादेखि ५०० कित्तासम्म माग गर्ने लगानीकर्तामध्ये ६८ हजार १८ जनाले ८० कित्ता तथा पाँच जनाले ७१ कित्ता सेयर प्राप्त गरेका छन् । रसुवागढीले पहिलो चरणमा कर्मचारी सञ्चयकोषका सञ्चयकर्ताका लागि १ करोड ३३ लाख ४२ हजार ९५ कित्ता साधारण सेयर निष्काशन गरेको थियो ।
पहिलो चरणमा निष्काशित आईपिओमा न्यूनतम ५० देखि बढीमा ३०० कित्तासम्म आवेदन दिनसक्ने व्यवस्था थियो ।
प्रतिक्रिया