काठमाडौं । सिभिल बैंक लिमिटेडले आफ्नो ५९औं शाखा लमजुङको बेसीशहरमा स्थापना गरेको छ । शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले गरे । शाखाको उद्घाटन गर्दै गभर्नर डा.नेपालले बैंकको उपस्थितिविना संघीय नेपालको समृद्धि हुन नसक्ने बताए ।
उनले देशका अति दुर्गम स्थानहरुसम्म बित्तीय पहुँच पु¥याउने सोच अनुरुप मौद्रिक निति बनाईने र त्यसको कार्यान्वयनमा जोड दिइने स्पष्ट पार्दै अहिलेपनि नेपालको कूल ४० प्रतिशत जनताले मात्र बैकिङ गर्ने र ४०प्रतिशत भित्रको ४२ प्रतिशतले मात्र ऋण सुविधाको उपभोग गर्ने गरेको बताए ।
त्यस्तै उनले स्थानीय तहमा बैंकको आवश्यकता महसुस गरेर नेपाल राष्ट्र बैंकले ७५३ स्थानीय तहमा बित्तिय पहुँच पु¥याउने नीति अनुरुप वाणिज्य बैंकको शाखा खोल्नका लागि नेपाल राष्ट्र बैंकले निर्देशन जारी गरेको बताए ।
सोही कार्यक्रममा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) गोविन्द गुरुङले ग्रामीण भेगको आर्थिक विकासको लागि बैंक अपरिहार्य रहेको बताए । नेपाल राष्ट्र बैंकको स्थानियस्तरमा बित्तीय पहुँच पु¥याउने नितीलाई आत्मसात गर्दै सिभिल बैंकले लमजुङको ग्रामीण भेग भुलभुले, राइनास, मालिङ र गौंडा शाखा संचालनमा ल्याएर आफ्नो क्षेत्रबाट वित्तिय सारक्षरतामा केही योगदान दिएको बताए ।
आफ्ना ग्राहकवर्ग तथा अन्य सम्पूर्ण सरोकारवालाहरुका हितलाई ध्यानमा राखी बचत परिचालनका योजनाहरु ल्याउने र स्थानिय अर्थतन्त्रको विकासका लागी उत्पादनमुलक क्षेत्रको लगानीमा जोड दिनुका साथै प्रविधिकेन्द्रित सेवा सुविधालाई परिस्कृत गर्दै लैजाने नीति बैंकको रहेको सिइओ गुरुङले दावी गरे ।
सिभिल बैंकको हालसम्म दुई लाख भन्दा बढी ग्राहकहरु रहेका छन् । बैंकको ३७ अर्व भन्दा बढी निक्षेप र ३६ अर्व रुपैयाँ कर्जा लगानी रहेको छ । लमजुङ बेसीशहर शाखासहित यस बैंकको लमजुङ जिल्लामा ५ शाखा र कुल शाखा संख्या ५९ पुगेकोे बैंकले जनाएको छ ।
प्रतिक्रिया