काठमाडौं । अमेरिकी कम्पनीमा नेपाली बैंकहरुले लगानी गर्ने भएका छन् । अमेरिकाको क्रेडिट रेटिङ कम्पनी ’डन एण्ड ब्राडस्ट्रिट (डिएनबी)’ ले संस्थापक शेयरधनीका रुपमा लगानी गर्न नेपाली बैंकहरुलाई औपचारिक रुपमा पनि प्रस्ताव पठाएको छ ।
डिएनबीले नेपालमा पनि क्रेडिट रेटिङ कम्पनी स्थापना गर्नका लागि नेपालीबैंकहरुको लगानी आवश्यक भएको भन्दै कम्पनीले शेयरधनीका रुपमा सेयर हाल्नका लागि नेपाली बैंकर्सहरुलाई आग्रह गरेको हो । कम्पनीले नेपालमा क्रेडिट रेटिङ कम्पनी खोल्ने तयारी गरिरहेको छ ।
बैंकहरुसँगै मिलेर काम गर्नु पर्ने भएकाले उसले २८ वटा बाणिज्य बैंकलाई १÷१ प्रतिशतका दरले २८ प्रतिशत शेयर लिइदिन प्रस्ताव गरेको छ । डिएनबी विश्वस्तरमै ख्याती कमाएको क्रेडिट रेटिङ कम्पनी हो ।
यसैबारेमा कम्पनीका नेपाल प्रतिनिधि तथा पुर्व बैंकर अनलराज भट्टराईले बुधबार बैंकर्स संघमा बैंकका प्रमुख कार्यकारी तथा अन्य प्रतिनिधिहरुलाई कम्पनीको बारेमा विस्तृत जानकारी दिएका थिए । नेपालमा विदेशी संयुक्त लगानीका बैंकले भने निर्णयका लागि केही समय माग गरीरहेका छन् ।
कम्पनीको कुल चुक्ता पूँजी १२ करोड रुपैयाँको हुने छ । यसमा बैंकहरुलाई २८ प्रतिशत शेयर हिस्सा दिन खोजिएको हो ।
डिडएनबीले २०० देशमा सेवा दिँदै आएको छ भने नेपालमा डिएनबीको ६५ प्रतिशत लगानी हुने छ । २८ प्रतिशत लगानी बाणिज्य बैंकहरुका लागि छुट्याइएको हो । बाँकी लगानी कम्पनीको ब्यवस्थापनहरुले गर्ने छन् । डिएनबीले शेयरलगायतको रेटिङका साथै ऋणको पनि रेटिङ गर्ने छ ।
प्रतिक्रिया