काठमाडौं । चीनले सहुलियत ऋणमा दिएको दुई विमान मंगलबार नेपाललाई हस्तान्तरण भएको छ । मंगलबार त्रिभुवन विमानस्थलमा भएको एक औपचारिक कार्यक्रममा नेपालका लागि चीनीयाँ राजदुत यु होङले पर्यटनमन्त्री रबीन्द्र अधिकारीलाई जाहाजको साँचो हस्तान्तरण गरिन् ।
कलसाइन (एन–एकेयूरएन–एकेभी ) विमान करीब डेढ महिनाअघि काठमाडौँ ल्याइएको थियो । याी दुईवटा विमान १७ सिटको रहेको छ । यी दुई विमान सहित ६ वटा चिनियाँ विमान नेपाल आइसकेका छन् । ६ विमानमध्ये दुई विमान वाई १२ र एमए ६० (५६ सिट क्षमताका) विमान चीनको अनुदानमा ल्याइएको हो भने बाँकी एक एमए ६० र तीन वाई १२ गरी चार विमान सहुलियत ऋणमा नेपाल वायुसेवा निगमले खरिद गरेको हो ।
यसअघि वि.सं.२०६९ मा नेपाल र चीन सरकारबीचको प्रत्यक्ष सम्झौताबमोजिम कूल ६ वटा जहाज नेपाल वायुसेवा निगमले ल्याउने र त्यसमा दुई अनुदान र चार वटा सहुलियत ऋणमा ल्याउने सहमति भएको थियो । निगमका पुराना तीनसहित नौ वटा विमान आन्तरिक उडानका लागि छन् भने अन्तर्राष्ट्रियतर्फ एक बोइङ र दुई एयरबस ए–३२० बाट उडान भर्दै आएको छ ।
निगममा विमान भित्रिए पनि विमान चालक (पाइलट) अभावका कारण तीन वटा विमान लामो समयदेखि थन्किएका छन् । सो विमान बुझ्दै पर्यटनमन्त्री रवीन्द्र अधिकारीले चीनबाट ल्याइएको छ वटै विमान सय दिनभित्र सञ्चालनमा लयाउन वायु सेवा निगमलाई निर्देशन दिएका छन् ।
पर्यटनमन्त्री अधिकारीले नेपाल र चीनको सम्बन्ध विमान उडेजस्तै हुनुपर्ने भन्दै आएका विमानलाई सहज रुवमा उडानको वातावरण सिर्जना गर्न दुवै पक्षले ध्यान दिनुपर्ने खाँचो औँल्याए ।
“छ वटा विमान आएका छन् यो सञ्चालन राम्रो भयो भने दुई देशबीचको सम्पन्न पनि राम्रो हुन्छ, सधैँ विमान चालक अभाव भनेर उम्कन पाइँदैन धेरै पाइलट उत्पादन गर्ने गरी त्यस अनुरुपको तालीम लगायतका कार्यक्रम प्रभावकारी रुपमा लैजानुपर्छ,” मन्त्री अधिकारीले भने ।
निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले निगमले नयाँ विमानबाट आन्तरिक उडानलाई प्रभावकारी बनाइने बताए । निगमले ल्याएको नयाँ दुई विमान पनि हालकै गन्तव्यमा उडान भर्ने योजना सुनाए । नेपालका लागि चिनियाँ राजदूत यू होङले नेपालको अर्थतन्त्रको महत्वपूर्ण आधार पर्यटन क्षेत्रको प्रवर्द्वनका लागि नयाँ विमान उपयोगी हुने धारणा व्यक्त गरे ।
प्रतिक्रिया