काठमाडौं । सरकार सम्पत्ति शुद्धिकरणविरुद्ध कठोर हुने भएको छ । सोमबार सरकारको तर्फबाट प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैंठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेबी भण्डारीले सम्पत्ति शुद्धिकरणमा सरकार कठोर रुपमा उत्रने बताइन् ।
उनले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सरकारले सम्पत्ति शुद्धीकरणविरुद्ध कठोर कदम चाल्ने, प्रत्येक नेपाली नगरिरकको बैंक खाता खोल्ने, सबै सरकारी कर्मचारी र सरकारी कारोबार बैंक मार्फत मात्र हुन्, ५ वर्षमा कृषिको उत्पादन दोब्बर बनाउने नीति लिएको छ ।
गत बर्षको बजेट मार्फत पनि सरकारी सबै नागरिकमा बैंक पुर्याउने लक्ष्य राखेको थियो । यो सरकारले पनि सोही कार्यक्रमलाई निरन्तरता दिएको छ । नीति तथा कार्यक्रममा ‘राष्ट्रिय हाइवेलाई एक्सप्रेस वे’ बनाउँदै राष्ट्रिय महत्वका पूर्वपश्चिम र उत्तरदक्षिण राजमार्गलाई रणनीतिक हिसावले बनाउने पनि सरकारी योजना छ । राजमार्गमा कलात्मक पूल बनाउनेदेखि काठमाडौं निजगढ द्रुतमार्ग, हुलाकी राजमार्ग पाँच बर्षभित्र निर्माण सक्ने सरकारले लक्ष्य लिएको छ ।
मेचीमहाकाली, काठमाडौं—वीरगञ्ज र रसुवा—लुम्बिनी—काठमाडौं—पोखरा चल्ने रेलमार्ग निर्माण तत्काल सुरु गर्ने, पूर्वाधार विकासकमा सार्बजनिक निजी साझेदारीलाई प्रोत्साहित गर्ने सरकारको आफ्नो नीति तथा कार्यक्रममा पारेको छ । सरकारी योजनाहरु निर्माणमा अब ढिलाई हुन नदिने र कुनैपनि योजनाको नियमन सम्बन्धीत मन्त्रालयले गर्ने र सो नियमनको पनि नियमन प्रधानमन्त्री कार्यालयले गर्ने सो नीति तथा कार्यक्रममा समेटिएको छ ।
सम्पुर्ण प्रकारका सिन्डिकेट तोड्ने नीति पनि सरकारले लिएको छ । यातायात व्यवसायीको सिन्डिकेट तोडेर वाहीवाही कमाएको सरकारले सिन्डिकेटको जालो तोड्नका लागि नीति तथा कार्यक्रममा नै प्राथमिकताका साथ राखेको छ ।
त्यसैगरी वित्तिय क्षेत्रतर्फ सरकारले वित्तीय क्षेत्रको सबै नियामक निकाय जस्तै नेपाल राष्ट्र बैंक, बीमा समिति नेपाल धितोपत्र बोर्डको क्षमता बढाउँदै जाने पनि नीति तथा कार्यक्रममा समेटिएको छ ।
त्यसैगरी सरकारले भुउपयोग नीति लागु गर्ने, कृृषियोग्य जमिन खण्डिकरण हुन नदिने, सामूहिक खेतीलाई प्रोत्साहित गर्ने, कृषि बीमा बिस्तार गर्ने छ । सरकारले लोकप्रियताको लागि काम नगर्ने जनताको समृद्धिका लागि काम गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।
त्यसैगरी सरकारले आगामी ५ वर्षमा सबै स्थानीय तहमा कालोपत्रे सडकलाई जोड्ने नीति पनि ल्याएको छ । नीति तथा कार्यक्रममा मुख्य राजमार्गहरुलाई ‘एक्सप्रेश वे’का रुपमा विकास गर्ने विषय उल्लेख छ ।
प्रतिक्रिया