काठमाडौं । नेपाल बैंकले जारी गर्न लागेको फरदर पब्लीक अफरिङ (एफपिओको) मूल्य २८० रुपैयाँ कायम गरिएको छ । बैंकको सञ्चालक समितिले एफपिओको ३१० रुपैयाँ मुल्य भने पनि विक्री प्रबन्धकहरुले उक्त मुल्यमा एफपओ जारी गर्न नसक्ने बताएपछि बैंक र विक्री प्रबन्धकको सहमतिमा २८० रुपैयाँ तय गरिएको स्रोतले बताएको छ ।
बैंक संचालक समितिले प्रस्ताव गरेको मूल्यमा अन्डरराइटिङ गर्न मर्चेन्ट कम्पनीले अस्विकार गरेका थिए ।
नेपाल धितोपत्र बोर्डको निर्देशिका अनुसार नै बैंकको पुँजीकृत आम्दानी, प्रति सेयर खुद सम्पत्तिको बजार मूल्य, १८० दिनको औसत बजार मूल्य र भविष्यमा प्राप्त हुने नगद प्रवाहको मूल्य समेतको आधारमा एफपीओको मूल्य प्रतिकित्ता ३१० निर्धारण गरेको थियो । उक्त मूल्यलाई बोर्डले पनि सहमति दिएको थियो ।
तर, बोर्डले १०० प्रतिशत अण्डरराइटिङ गर्न निर्देशन दिएको र मर्चेन्ट बैंकहरुले उक्त मूल्यमा अन्डरराइटिङ गर्न नमानेपछि बैंकले मूल्य घटाएको हो ।
बैंकले एक अर्ब ७६ करोड ८४ लाख ८५ हजार ८ सय रुपैयाँ बराबरको एक करोड ७६ लाख ८४ हजार ८५८ कित्ता साधारण सेयर जारी गर्न लागेको हो ।
राष्ट्र बैंकले तोकेको न्यूनतम आठ अर्ब पूँजी पुर्याई सकेपनि बैंकले पुँजी बढाउनका लागि एफपिओ जारी गर्ने योजना ल्याएको हो । बैंकले एफपिओको १०० रुपैयाँ चुक्ता पुँजीमा र थप प्रिमियम रकम भने रिजर्भमा जानेछ ।
प्रतिक्रिया