वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

खोपासीको विद्युत गृहलाई शैक्षिक ग्रामको रुपमा विकास गरिने

अर्थटुडे
२०७५ जेष्ठ १०, बिहीबार

काठमाडौं । काभ्रेको खोपासीमा रहेको २.४ मेगावाट जडित क्षमताको पनौती जलविद्युत गृहलाई शैक्षिक ग्रामको रुपमा विकास गरिने भएको छ । नेपाल विद्युत प्राधिकरण र काठमाडौं विश्वविद्यालयबीच विद्युत गृहलाई शैक्षिक र अनुसन्धान केन्द्रको रुपमा प्रयोग तथा विकास गर्ने गरी समझदारी भएको छ ।

धुलिखेलमा बिहीबार आयोजित कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र काठमाडौं विश्वविद्यालयका उपकूलपति प्राडा रामकण्ठ मकाजू श्रेष्ठले एमओयूमा हस्ताक्षर गरे ।

१० वर्षसम्म कायम रहेन सम्झौता अनुसार विश्वविद्यालयले प्राधिकरणलाई वित्तीय भार नपर्ने गरी विद्युत गृहको सदृढीकरण, नयाँ संरचना निर्माण लगायतका सम्पूर्ण काम गर्नेछ । विद्युत गृहबाट अहिले उत्पादन भइरहेको ऊर्जा नघट्ने गरी विश्वविद्यालयले त्यस्ता संरचनाको प्रयोग गर्ने छ । विद्युत गृहबाट गत वर्ष २६ लाख ३० हजार युनिट विद्युत उत्पादन भएको थियो । विद्युत गृहको सञ्चालन भने प्राधिकरणले नै गर्नेछ ।

विश्वविद्यालयले सिभिल, मेकानिकल, इलेक्ट्रिकल जलविद्युत लगायतका इन्जिनियरिङ विषयमा स्नातक, स्नातकोत्तर, विद्यावारिधि जस्ता शैक्षिक कार्यक्रम तथा तालिम सञ्चालनका लागि विद्युत गृहको स्वामित्वमा रहेका संरचना र जग्गाको प्रयोग गर्ने छ । विद्युत गृहका टर्बाइन, जेनेरेटर, नहर लगायतका संरचनाको सुदृढीकरण विश्वविद्यालयले आफ्नै खर्चमा गर्ने व्यवस्था गरिएको छ ।

प्राधिकरण र विश्वविद्यालयले ज्ञान तथा सीप साटासाट गर्न संयुक्त रुपमा तालिम, सम्मेलन, कार्यशाला, शैक्षिक लगायतका कार्यक्रम सञ्चालनबाट नाफा प्राप्त भएमा त्यसको १० प्रतिशत प्राधिकरणले पाउने व्यवस्था गरिएको छ ।
उपकूलपति प्राडा रामकण्ठ मकाजू श्रेष्ठले विद्युत गृहलाई विश्वविद्यालयले ज्ञान र सीप आर्जन गर्ने थलोको रुपमा विकास गर्ने बताए । ‘विद्युत गृहलाई सुधार गर्न गर्नु पर्ने काम धेरै छन्, दुई वर्षभित्रै सबै काम सकी विद्युत गृहलाई सिकाईका लागि उत्कृष्ट थलोको रुपमा विकास गर्ने छौं’,उनले भने, ‘विद्युत गृहलाई इन्जिनियरिङ अध्ययनका लागि शैक्षिक ग्राम बनाउने छौं ।’

प्राधिकरणले फर्पिङ, सुन्दरीजल जस्ता ऐतिहासिक विद्युत गृह विश्वविद्यालयलाई शैक्षिक प्रयोजनका लागि प्रयोग गर्न दिने तयारी गरेको छ । नेपालको पहिलो विद्युत गृह फर्पिङलाई त्रिभुवन विश्वविद्यालयलाई दिने तयारी भइरहेको प्राधिकरणले जनाएको छ ।

सरकार र तत्कालीन सोभियत संघको आर्थिक तथा प्राविधिक सहयोगमा पनौती विद्युत गृहको निर्माण भएको थियो । विद्युत गृह ३१ असार २०२२ बाट सञ्चालनमा आएको थियो । विद्युत गृह अहिले जीर्ण अवस्थामा सञ्चालन भइरहेको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ