काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिको व्यवसायीकरण र आधुनिकीकरण गर्न सहकारीलाई साथमा लिएर अघि बढ्ने बताएका छन् । बहुसंख्यक नेपाली कृषिमा लागेपनि त्यस अनुसार प्रतिफल नआएको भन्दै उनले निर्वाहमुखी कृषि प्रणालीमा सुधारको आवश्यक्ता रहेको उल्लेख गरे ।
शनिबार पुस्तक ‘इमानको इन्द्रेनी’ विमोचन गर्दै प्रधानमन्त्री ओलीले कृषिको व्यवसायीकरण गर्नका लागि प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना ल्याएको र यसलाई सहकारीमार्फत अघि बढाउने बताए । “इजराईलमा २ प्रतिशत जनता कृषिमा लाग्दा त्यहाँ कृषि क्रान्ति नै भएको छ” उनले भने, “नेपालमा दुई तिहाई जनता कृषिमा लाग्दा पनि देशलाई आवश्यक खाद्यान्न उत्पादन गर्न सकिएको छैन ।” नेपालको कृषिलाई व्यवसायीक बनाउन यहाँको भौगोलीक अवस्था अनुसारको मोडल बनाउन सरकार लागिरेहेको र त्यसका लागि सहकारी उपयुक्त मोडल हुने उनले भनाई थियो ।
पुस्तकमा टिप्पणी गर्दै अन्तर्राष्ट्रिय सहकारी महासंघ (आइसीए) बोर्ड संचालक तथा राष्ट्रिय सहकारी महासंघकी उपाध्यक्ष ओमदेवी मल्लले नेपालको सहकारी आन्दोलनलाई संस्थागत र व्यवस्थित गर्न बडालको भूमिका महत्वपूर्ण रहेको बताइन् । २०४८ साल र २०७४ सालको सहकारी ऐन ल्याउन, सहकारी महासम्मेलन गर्न बडालले महत्वपूर्ण भूमिका निर्वाह गरेको र यसैका कारण नेपाली सहकारी आन्दोलनको अन्तर्राष्ट्रियस्तरमा पुग्न सफल भएको उनले उल्लेख गरिन् ।
परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले नेपालमा अर्थतन्त्रमा सहकारी नयाँ शक्तिको रुपमा उदय भएको बताए । सहकारीले संकलन गरेको स—सानो पुँजी ठूलो भएको र यसलाई देश विकासमा परिचालन गर्नुपर्ने उनको धारणा थियो ।
भुडीपुराण प्रकाशनले प्रकाशित गरेको पुस्तक साहित्यकार अनिल न्यौपानले लेखेका हुन् । पुस्तकमा बडालको व्यक्तिगत, राजनीतिक तथा व्यवसायीक जीवनका विभिन्न पाटो प्रस्तुत गरिएको छ ।
बडालको नाममा अक्षयकोष
केशव प्रसाद बडालको जन्मदिनको अवसर पारेको आयोजना गरेको कार्यक्रममा उहाँको नाममा अक्षय कोष घोषणा गरिएको छ । अन्तर्राष्ट्रिय सहकारी महासंघकी संचालक ओमदेवी मल्लले हरेक वर्ष एक जना पत्रकारलाई सम्मान गर्नेगरी १ लाख १ हजार रुपैयाँको अक्षय कोषको स्थापना गरेकी हुन् । कोषबाट प्राप्त हुने ब्याजबाट हरेक वर्ष सहकारी क्षेत्रमा कलम चलाउने एक जनालाई सम्मान गरिनेछ ।
बडाल सहकारीका पिता भएकोले उहाँका आदर स्वरुप केशव बडाल सहकारी पत्रकारिता पुरस्कार कोष स्थापना गरेको कोषकी संस्थापक मल्लले जानकारी दिइन् ।
उक्त कोषबाट यसवर्ष नेपाल सहकारी पत्रकार समाजका संस्थापक अध्यक्ष तथा कारोबार दैनिकका पत्रकार यादव हुमागाईलाई सम्मानित गरिएको छ । शनिवार केशव बडालको बारेमा लेखिएको पुस्तक विमोचन कार्यक्रमको अवसर पारेर प्रधानमन्त्री केपी शर्मा ओलीले हुमागाईलाई सम्मान गरेका हुन् ।
प्रतिक्रिया