वि.सं. २०८२ कार्तिक ५
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

पुँजी बजारको दिगो विकासको लागि स्टक डिलरको खाँचो छ

अर्थटुडे
२०७५ मंसिर २३, आईतवार

रमण नेपाल
कार्यकारी निर्देशक
नागरिक लगानी कोष

तपाई भर्खर यहाँ आउनुभएको छ । नागरिक लगानी कोषको अवस्था कस्तो पाउनुभयो ?

नागरिक लगानी कोष ऐन, २०४७ ले सर्वसाधारणको बचत परिचालन गरी पुँजी बजारको बिकास र विस्तार गर्ने उद्देश्य लिएकोमा सो अनुरुप वचत परिचालन भएको तर पुँजी बजारको बिकास र विस्तारमा सोचे अनुसारको काम भएको पाइएन । पुँजीबजार सम्बन्धी कामहरु पहिले केही भएको तर अहिले सो काम कम मात्र भएको पाएको छु । पुँजीबजारको विकास र विस्तारका लागि नागरिक लगानी कोषले महत्वपूर्ण योगदान पु¥याउनुपर्ने देखिन्छ । नेपालमा स्टक डिलरको काम गर्ने कुनैपनि सस्था नरहेको अवस्थामा लगानीकोषले स्टक डिलर भएर बजारलाई स्थिरीकरण गर्न र नेपालको पुँजीबजारलाई दिगो बनाउन महत्वपूर्ण रोल खेल्ने सम्भावना रहेको मैले पाएको छु । साथै, कोषले परिचालन गरेको बचतलाई उत्पादनमुलक क्षेत्रमा प्रबाह गरी कोष तथा राष्ट्रले बढी भन्दा बढी लाभ लिन सक्ने देखिन्छ ।

पुँजी बजारमा नै काम गर्ने गरी धेरै कम्पनीहरु आएका छन,प्रतिस्पर्धा धेरै छ । यस्तो अवस्थामा कसरी काम गर्नुहुन्छ ?

मर्चेन्ट बैंकर भएर इस्यु म्यानेजर, आरटिएसको काम गर्ने भन्दा पनि स्टक डिलर भएर ठूलो मात्रामा शेयरहरु खरिद गर्ने, बजार बुलिस अथवा वियरिस ट्रेन्डमा गएको बेलामा शेयर खरिद बिक्री गरेर बजारलाई सन्तुलनमा राख्न महत्वपूर्ण रोल खेल्न सक्ने सम्भावना स्टक डिलरको हुन्छ । त्यसका लागि कोषले नेपाल धितोपत्र बोर्ड (सेवन)मा प्रस्ताव पठाइसकेको छ । सेवनले कोष अन्तर्गत रहेर नभई छुट्टै एउटा सब्सीडरी कम्पनी खोलेर काम गर्नका लागि सुझाव दिएको छ ।
अहिले पुँजीबजार निक्कै ओरालो लागेको अवस्था छ यस्तो अवस्थामा नागरिक लगानी कोषले पुँजीबजारलाई स्थीरीकरणका लागि केही गर्न सक्दैन ?
यो सान्दर्भिक कुरा पनि हो । कोषमा म आएको करिव दुई हप्ताजति भयो । यसअघि कोषमा राजनीतिक नियुक्ती हुने गरेको थियो । यसपालिदेखि मात्र सरकारले कोषको कार्यकारी प्रमुखको पदमा खुल्ला प्रतिष्पर्धा गरेर पूरा गरेको हो । त्यसको लागि प्रोफेसनल मान्छे हुनु जरुरी छ । मलाई नेपालको अर्थतन्त्र बुझेर विश्लेषण गरेर कार्ययोजना बनाउनको लागि कठीन छैन । त्यसैले मलाई कोषलाई सही दिशातर्फ उन्मुख गराउनका लागि कठीन हुदैन ।
नागरिक लगानी कोषले अन्डरराइटिङको काम गरिरहेको छ, यही कामका लागि पनि ठूलो प्रतिस्पर्धा रहेको छ । यस्तो अवस्थामा कसरी काम गरिरहेको छ, कोषले ?
बजार सानो छ । तर, मर्चेन्ट बैंकरहरु धेरै छन् । सबै बैंकका एक एक वटा मर्चेन्ट बैंकर छन् भने त्यो बाहेकका केही थप पनि छन् । नयाँ विजनेशको खोजी गर्ने क्रममा बैंकहरुले पनि सब्सीडरी कम्पनीको रुपमा मर्चेन्ट बैंकरको काम सुरु गरेका हुन् । सरसरर्ती हेर्दा उनीहरुलाई अहिले सञ्चालन खर्चमात्र धान्न पनि कठीन रहेको छ । हामीलाई कुनै कठीन छैन । कोषको गुडविल निक्कै राम्रो छ । क्यापिटल मार्केटको लागि कोषको गुडविल व्याकअपमा रहेको छ । अन्डरराइटिङको पाटोमा बजार प्रतिष्पर्धी भएपनि कोषलाई कुनै असर पर्दैन । अबका दिनहरुमा कोषले अन्डररायटिङ गर्नुपरेको खण्डमा कम्तिमा पनि रेटिङ ४ भन्दा तल्लो स्तरको कम्पनीहरुको अन्डरराइटिङ गर्दैनौ । किनकि रेटिङ नै नराम्रो हुँदा उसको सेयर पूरै बिक्री हुन्छ भन्ने त हुदैन । रेटिङ पाँच हुनेले पनि आइपीओ त जारी गरेका छन् तर उनीहरुलाई आइपीओ जारी गर्न दिन हुदैनथ्यो किनकि उनीहरुले आइपीओ जारी गर्नु भनेको सर्वसाधारण लगानीकर्तालाई झुक्याउनु हो । अन्डरराइटिङ गर्ने बेलामा पनि कम्पनीहरुले सो कुराको भने ध्यानदिनु जरुरी रहेको छ ।
सेबोनले सिआश्वा लागू गरेपछि मर्चेन्ट बैंकहरुको नाफामा नराम्रोसँग असर गरेको थियो । नागरिक लगानी कोषको हकमा के भएको छ ?
कोषलाई पनि आश्वा प्रणालीका कारण केही असर भएको छ । मर्चेन्ट बैंकहरुले आश्वा प्रणाली लागू हुनुभन्दा अघि आइपीओ भरेको रकम केही समय कल एकाउन्टमा राख्ने र सोबाट आएको व्याज लिने र नाफा कमाउने गरेका थिए । अहिले ह्वात्तै घटेको छ । त्यसैले नाफामा असर त गरिहल्छ । कोषको कोर विजनेश अरु नै रहेको छ । पुँजी बजारको विजनेश सानो छ । यस क्षेत्रमा कोषले नयाँ शिराबाट सोच्नै पर्ने भएको छ ।
कोषलाई यसअघिका कार्यकारी प्रमुखले पनि फरक ढंगले अगाडि बढाउन खोजेका हुन् । तर भएन, अब तपाईले सक्नु हुन्छ ?
यसअघिका कार्यकारी प्रमूखलाई भन्दा मलाई अलिक सहज हुन्छ । किनकि म खुल्ला प्रतिस्पर्धाबाट आएको हुँ साथै मलाई नेपाल राष्ट्र बैकमा काम गरेको लामो अनुभव छ । त्यसकारण पनि केही फरक पक्कै हुन्छ होला भन्ने आसा राख्नस न ।
पुँजीबजार अत्यधिक जोखिमपुर्ण क्षेत्र हो, नागरिक लगानी कोषमा कर्मचारीहरुको रकम रहेको छ, यदि स्टक डिलर खोलेर कोषले कसरी पुँजी बजारमा लगानी गर्न सक्छ ?
पुँजीबजार जोखिमपूर्ण क्षेत्र भएकै कारण स्टक डिलरको काम गर्नका लागि छुट्टै सब्सीडरी कम्पनी खोल्ने भनेका हौ । स्टक डिलरको काम गर्दा बढी जोखिम हुन्छ । पूँजी बजारको जोखिमले कोषलाई असर गर्छ कि भन्ने डरले स्टक डिलरलाई छुट्टै सब्सीडरी कम्पनी जस्तो बनाउने सोचमा रहेका छौ । कोष र डिलरको म्यानेजमेन्ट देखि काम कारबाही नै छुट्टै हुनेगरी काम अगाडि बढाउने सोचमा रहेका छौ । जसरी अहिले वाणिज्य बैंकहरुले मर्चेट बैंक खोलेका छन् । त्यसैगरी काम गर्ने सोचमा रहेका छौ ।
भेन्चर क्यापिटलको काम गर्नका लागि पनि सेबोनले खुल्ला गरेको छ, नागरिक लगानी कोषलाई पुँजीको समस्या छैन । यसतर्फ कोषले कसरी सोचेको छ ?
भेन्चर क्यापिटलको काम गर्न सकिन्छ । तर अहिले त्यसतर्फ सोचेको छैन । हामी केही संस्थाहरुमा इक्वीटी पाटिसिपेसन गरेर गएका छौ तर भेन्चर क्यापिटलकै मोडालिटिमा हामीले काम गरेका छैनौ । भेन्चर क्यापिटलको काम गर्दा जोखिम अधिक रहेको हुन्छ भने यस्को लागि कारोबार गर्न छुट्टै कार्यविधि बनाई जोखिम विश्लेषण पश्चात मात्र गर्नुपर्दछ भन्ने मेरो मान्यता रहेको छ ।
पुँजीबजारको एक महत्वपूर्ण खेलाडी कोष पनि भएकाले पुँजी बजारलाई स्थिर बनाउनका लागि कोषले के कस्ता कदम चाल्दछ ?
मार्केट यसरी डोर्याउँछु भन्ने गरी योजना बनाउने खालको नेपालका पुँजीबजार छैन । किनकी शेयर लगानीकर्ताहरुले कुनैपनि शेयरमा राम्रो अध्ययन गरेर लगानी गरेका छैनन् । पुँजी बजार नै हल्लाको भरमा चलिरहेको छ विना अध्ययन लगानीकर्ताहरुले लगानी गरिरहेका छन् । पुँजी बजार अस्थिर रहनुमा नाफाको वितरण नै हो । बोनस सेयर दिएको बेलामा बजार ओरालो लाग्दैन । कि बढ्छ कि स्थिर हुन्छ । लगानीकर्ताहरुले पनि बोनस सेयर एकसय भन्दा बढी नै हो भन्ने बुझेका हुन्छन् । तर, जब नगद लाभांस दिन्छन्, त्यतिबेला बजार घट्छ । किनकि त्यो थोरै रकम हुन्छ । धेरै जसो बैक वित्तीय संस्थालाई पुँजीवृद्धिको ठूलो प्रेसर पर्यो लगानीकर्ताहरुले हकप्रद सेयरमा लगानी गरेर नै पुँजी पुर्याए । अहिले नगद लाभांस दिन थालियो । यसले प्रमोटरलाई त फाइदा नै भएको छ । तर सर्वसाधारण सेयर लगानीकर्ताहरुलाई भने राम्रो आकर्षण भएन । पुँजीबजारलाई स्थिर बनाउनका लागि नीति निर्माता तहमा रहेकाहरुले इम्प्याक्ट स्टडी गरेर, डाटा एनालाइसिस गरेर स्थिर नीति ल्याउनु आवश्यक छ । अनि मात्र पुँजीबजार स्थिर हुन्छ । त्यसैले नागरिक लगानी कोषले पुर्ण रुपमा स्टक डिलरको काम गर्न सुरु गरे पश्चात पँुजी बजारको दीगो विकास र विस्तारमा नीतिगत ब्यवस्था मार्फत उपयुक्त कदम चाल्ने छ भन्ने विश्वास दिलाउन चाहन्छु ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ