काठमाडौं । राष्ट्रिय सहकारी बैंकले नव निर्वाचित सञ्चालक समितिका सदस्यहरुको जिम्मेवारी बाँडफाँड गरेको छ । शनिबार सम्पन्न बैंक संचालक समितिको बैठकले प्रदेश स्तरीय उप–समिति र केन्द्रीय तहमा रहने उप–समितिको संयोजक छनोट गरेको हो ।
बैंकको विनियम अनुसार प्रदेशका तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालकहरुलाई प्रदेश संयोजकको जिम्मेवारी दिइएको छ । प्रदेशगत जिम्मेवारी अन्तरगत १ नं. प्रदेशमा महेन्द्र गिरी, २ नं. प्रदेशमा विश्वनाथ मण्डल, ३ नं. प्रदेशमा ज्ञानबहादुर तामाङ, गण्डकी प्रदेशमा रामबहादुर जि.सी. ५ नं. प्रदेशमा विजया धिताल, कर्णाली प्रदेशमा हरिहरनाथ योगी र सुदुरपश्चिम प्रदेशमा शिवा थापालाई जिम्मेवारी दिइएको छ । प्रदेश संयोजकहरुको नेतृत्वमा सात वटै प्रदेशमा राष्ट्रिय सहकारी बैंकको प्रदेश स्तरीय उप–समिति गठन गरिने बैंकले जनाएको छ । प्रदेश स्तरीय उप–समितिमा सम्बन्धित प्रदेशमा रहेका शाखा समन्वय उप–समितिका संयोजकहरु तथा शाखा नभएका स्थानमा सहकारी अभियानका प्रतिनिधि रहने व्यवस्था बैंंकले गरेको छ ।
यस्तै बैठकले अन्य ७ वटा उप–समिति निर्माण गरी सञ्चालकहरुलाई संयोजकको जिम्मेवारी दिएको छ । बैंकको शिक्षा, तालिम तथा सम्मान उप–समितिको संयोजकमा सरिता भट्टराई, सूचना, सञ्चार, प्रकाशन तथा प्रविधि उप–समितिको संयोजकमा माधव देवकोटा, लघुवित्त तथा उद्यम उप–समितिको संयोजकमा ध्रुवनारायण यादवलाई चयन गरेको छ ।
यस्तै नीति निर्माण, कार्यक्रम सम्पत्ती तथा दायित्व उप–समितिको संयोजकमा रामहरि बजगाई, व्यवसाय प्रवद्र्धन, एकीकरण तथा स्तरीकरण उप–समितिको संयोजकमा केदार मानन्धर, लैंगिक समानता उप–समितिको संयोजकमा पार्वती थापा मगर र अनुगमन, मानव संशाधन तथा जोखिम व्यवस्थापन उप–समितिको संयोजकमा अमृता सुब्वालाई चयन गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले जानकारी दिए ।
बैंकको सञ्चालक समितिले देशभरका सहकारी संघसंस्थाहरुको प्रवद्र्धनका लागि वित्तीय तथा शिक्षा, तालिम सूचना र प्रविधिमा सहयोग गरी सहकारीमार्फत समृद्ध नेपाल निर्माणमा योगदान गर्ने लक्ष्यका साथ अगाडि बढेको अध्यक्ष के.बी.उप्रेतीले बताए । वैठकले सहकारी बैंकका शाखा, उपशाखा, शाखारहित सेवा सहित सबै जिल्ला सदरमुकाम, महानगरपालिका, उपमहानगरपालिका, नगरपालिकाका केन्द्रहरुमा सेवा दिने गरी योजना अगाडि बढाएको छ ।
प्रतिक्रिया