वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सहकारीमा : काम ग्रामीण महिलाको नेतृत्व सहरियाको

अर्थटुडे
२०७६ बैशाख २९, आईतवार

काठमाडौ । शनिवार काठमाडौंमा विभिन्न जिल्लामा सहकारी संस्था हाकेर बसेका महिलाहरुको बृहत राष्ट्रिय भेला भइरहेको थियो तर सो भेलामा सहकारी अभियानका न कोही नेताहरुको उपस्थिति थियो न कोही नेतृहरुको नै । शान्त तर भव्य तरिकाले कार्यक्रमको आयोजना गरिएको थियो तर भाषण गर्ने महिलाहरु कोही थिएनन् । सबै उत्पादनमुलक काम गरिरहेका सहकारीका अध्यक्षहरुको जमघट थियो ।

नेपालमा महिलाको नेतृत्वमा चलेका करिव ९० प्रतिशत सहकारी सस्थाहरु सफल भएको राष्ट्रिय सहकारी महासंघले दावी गर्दै आइरहेको छ । यति बेला सहकारी मन्त्री पद्मा अर्याल पनि महिला नै छिन् भने अन्तराष्ट्रिय सञ्जाल इन्टरनेशनल को–अपरेटिभ एलायन्सको सञ्चालक समिति सदस्य ओमदेवी मल्ल पनि महिला नै छिन् । उनी विश्वबाट नै सहकारी क्षेत्रबाट महिलाको प्रतिनिधित्व पनि गरिरहेकी छिन् सञ्चालक समिति सदस्य भएर ।

सहकारी विकास बोर्डमा मन्त्री पद्मा अर्यालको तर्फबाट सिधै सहकारी विषेषज्ञको रुपमा नियुक्ति पाएकी इन्दिरा पन्त र सहकारी बैंककी सञ्चालक सरिता भट्टराई पनि आफूलाई सहकारी क्षेत्रको महिला नेतृको रुपमा चिनाइरहेका छन् तर सो कार्यक्रममा उनीहरुको अनुहार देखिएन । उनीहरु मात्र होइन सहकारी क्षेत्रमा महिला नेतृको रुपमा चिनिएका कोही परिचित अनुहार थिएन त्यहाँ ।

मन्त्री पद्मा अर्यालसहित सहकारीमा महिला नेतृ भनेर चिनिएका जति सबै त्यसदिन दोलाखामा भइरहेको सहकारी सम्मेलनको आतिथ्यता गरिरहेका थिए । जबकी दोलखामा भइरहेको सो कार्यक्रम जिल्लाले आयोजना गरेको जिल्ला स्तरीय थियो भने महिला सहकारीहरुले खोलेको महिला उद्यमी उपभोक्ता सहकारी संस्थाको कार्यक्रम भने राष्ट्रिय स्तरको थियो ।

विभिन्न २२ जिल्लाका १०५ वटा महिला सहकारीका अध्यक्षहरु समेत रहेर यता सहकारीलाई उत्पादनमूलक क्षेत्रमा कसरी लैजाने भनेर रणनीतिक योजनाहरु बुनिरहेका थिए तर महिला नेतृहरु भने नेपालमा सहकारीको इतिहास र सहकारी प्रबद्र्धन कसरी गर्न सकिन्छ भन्ने विषयमा ठूला ठूला भाषण दिइरहेका थिए ।

तल्लो तहमा काम गरेर आएका महिलाहरुमा कुनै पदको लोभ थिएन बस् काम कसरी गर्ने ? कहाँ र कसरी कुन अन्तराष्ट्रिय निकायबाट महिला उद्यमशिलताको लागि सहयोग आउछ भनेर छलफल गरिरहेका थिए । उत्पादन बृद्धि र बजारीकरणको समस्याको बारेमा गहन रुपमा छलफल भइरहेको थियो काठमडौंमा । तर दोलखामा भने सहकारीको अन्तराष्ट्रिय सिद्धान्तहरुको बारेमा जानी नजानी अंग्रेजी र नेपाली मिसाएर कार्यपत्र प्रस्तुत भइरहेको थियो ।
यो त केवल सानो उदाहरण हो महिलालाई नै होच्याएर बोल्ने उनीको बृत्ति विकासमा सहयोग नगर्ने प्रबृत्ति आम महिला नेतृत्वमा रहेको देखिन्छ ।
सधै महिलाहरु नेतृत्वमा आउनुपर्छ भनिन्छ तर जव उनीहरुलाई साच्चै नै नेतृत्वमा ल्याउने बेला हुन्छ तव पुरुषहरुले राजनीतिमा लागेको वा आफूले भनेको मान्ने महिलालाई नै नेतृत्वमा टिपेर लैजाने गरेको देखिन्छ ।

हामीले यसपालि सहकारीका महिला नेतृहरुलाई नबोलाएको नै हो, संघकी सचिव निर्मला श्रेष्ठले भनिन् —“नेताहरुले तल्लो तहसम्म गएर काम गरेका छैनन् उनीहरुमा सहकारीको सैद्धान्तिक ज्ञान भएपनि व्यवहारिक ज्ञान पर्याप्त मात्रामा भएको पाएकी छैन मैले । उनले अघि भनिन्—“ हामी कुरामा भन्दा काममा विश्वास गर्ने भएकोले काम गर्ने महिला सहकारीहरुको मात्र भेला गरिएको हो यहाँ भाषणको कुनै खाचो छैन ।”

सचिव श्रेष्ठले भनिन् —“हामीले महिला उद्यमी उपभोक्ता सहकारी संघको रुपमा अगाडी बढाउन खोजेका थियौ तर कही कतैबाट पनि साथ र सहयोग पाएनौ र अहिले दर्ता नै नभइकन बसेका छौ , हाम्रो पक्षमा उभिने कोही छैनन् । उनले भनिन् —यसपालिको सहकारी ऐनमा भने विशिष्टिकृत सहकारी दर्ता गर्न पाउने भनिएको रहेछ हामी सोही अन्तर्गत रहेर दर्ता हुन सक्छौ । ”

शनिवार सुरु भएको कार्यक्रम पाँचदिनसम्म चल्ने छ । सो कार्यक्रममा विभिन्न समूह बनाएर लेखासम्बन्धी, अर्गानीक मल उत्पादन गर्ने जस्ता सिपमुलक तालिम दिइने कार्यक्रम रहेको सचिव श्रेष्ठले बताइन् । सो कार्यक्रमको लागि सेन्ट्रल फर माइक्रोफाइनान्स र सिएससि नामक आइएनजिओले प्राविधिक सहयोग गरेको छ । सो कार्यक्रममा प्रमूख अतिथि दिपकप्रकाश बास्कोटाले महिला सहकारी अर्गानिक खेतीमा र आर्गानिक बस्तुहरुको उत्पादनमा जोड दिन आग्रह गर्दै आफूहरु विस्तारै हातेमालो गरेर अगाडी बढ्न चाहेको बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ