काठमाडौं । असार अन्तिम साता परेको वर्षाका कारण प्रदेश दुईमा कृषि तथा पशुपन्छी व्यवसायमा साढे तीन अर्ब भन्दा धेरैको क्षति भएको छ । बाढी र डुबानका कारण प्रदेश दुईका ८ जिल्लामा पशुपन्छीतर्फ १ अर्ब ६२ करोड तथा कृषि बालीतर्फ एक अर्ब ९७ करोड रुपैयाँ बराबर क्षती पुगेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार सबैभन्दा बढी क्षति सिरहा र सप्तरीमा कुल ९७ करोड बराबरको क्षति भएको छ भने रौतहटमा मात्र ३५ करोड बराबरको क्षति भएको छ । धनुषामा १५ करोड, पर्सा र बारामा १० करोड, सर्लाहीमा ५ करोड क्षति भएको छ । महोत्तरीको तथ्यांक भने संकलन नभएको मन्त्रालयले जनाएको छ ।
बाढीले कुखुरा, हाँस, बाख्रा, भैंसी र गोरु तथा यसकाआहार पनि बगाएको छ । बाढीले सिरहा र सप्तरीमा २ हजार ८ सय टन तयारी माछा नै बगाएको छ भने ६६ हजार कुखुरा, कम्तिमा एक हजार गाई, भैंसी, राँगालगायतका घरपालुवा जनावर र करिव ६ हजारको संख्यामा बाख्रा बाढीले बगाएको छ ।
यसैगरी खेतीतर्फ सबैभन्दा बढी क्षति बारामा भएको छ । बारामा मात्र ५० हजार ३ सय हेक्टरमा केरा, तरकारी, मकै बाली, चैते धान तथा वर्षे धानको ब्याड नष्ट हुँदा करिब ५० करोड रकम बराबरको क्षति भएको छ । पर्सामा ४४ करोड ८८ लाख रकम बराबरको क्षति भएको छ । त्यसैगरी रौतहटमा ३५ करोड, सप्तरीमा ३० करोड, धनुषामा २० करोड, सर्लाहीमा ८ करोड तथा सिराह र महोत्तरीमा ५(५ करोड बराबरको क्षति भएको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया