वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मेलम्ची आयोजनामा गोली चल्यो, दुई घाइते

अर्थटुडे
२०७६ भाद्र १९, बिहीबार

काठमाडौं । सिन्धुपाल्चोकस्थित मेलम्ची खानेपानी आयोजनामा गोली चलेको छ । अम्बास्थान स्थित मेलम्ची खानेपानी आयोजना अगाडि शान्तिपूर्ण प्रदर्शनमा रहेका मजदुर, भेन्डर तथा सप्लायर्सहरुमाथि सशस्त्र प्रहरीले गोली चलाउँदा २ जना मजदुर घाइते भएका छन् ।

गोली लाग्नेमा सन्तोष चौधरी र बालमुकुन्द अधिकारी रहेका छन् । उनीहरुलाई हात तथा शरीरका तल्लो तहका विभिन्न अंगमा गोली लागेको छ ।

सशस्त्र तथा जनपद प्रहरी परिचालन गरिएको उक्त क्षेत्रमा प्रहरीले बल प्रयोग गरी शान्तिपूर्ण प्रदर्शनमाथि दमन गरेको आरोप प्रदर्शनकारीले लगाएका छन् ।

प्रहरीले अश्रुग्याँस समेत चलाएको छ । अश्रुग्याँसले दर्जनौं प्रदर्शनकारी घाइते भएको अम्बास्थानस्थित मेलम्ची आयोजना संघर्ष समितिका सदस्य विष्णुमणि आचार्यले जानकारी दिएका हुन् ।

आचार्यका अनुसार करिब ३ सय जति प्रदर्शनकारीहरु हातमा प्लेकार्ड सहित शान्तिपूर्ण धर्नामा थिए । सरकारले सशस्त्र तथा जनपद गरी दर्जनौं प्रहरी परिचालन गरेको थियो ।

सरकारले दुई दिन अघि मात्रै मेलम्ची खानेपानीमा संलग्न भेन्डर तथा सबकन्ट्र्याक्टरहरुलाई पैसा दिन नसक्ने बताएको थियो ।संघर्ष समितिका अनुसार सरकारको उक्त निर्णय मजदुर तथा श्रमिक मार्ने प्रपञ्च रहेको आरोप छ ।

गत माघमा मेलम्ची खानेपानी परियोजना छाडेर भागेको सिएमसीसँग सम्बन्धित भई निर्माण सामग्री सप्लाइ गरेका तथा सबकन्ट्र्याक्टरका रुपमा विभिन्न निर्माण उपकरण सहित करारमा रहेका भेन्डरहरुलाई पैसा नदिने भन्ने निर्णय अमान्य र अन्यायपूर्ण भएको बताएका छन् ।

सरकारको उक्त निर्णय सच्चिनु पर्ने भन्दै उनीहरु आफ्नो लागत लिनका लागि संघर्षमा उत्रिएको बताउँछन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ