काठमाडौ । अन्तराष्ट्रिय सहकारी महासंघ (आइसीए) को विश्व सम्मेलन अक्टोवर १४ देखि १७ सम्म रुवान्डाको किगालीमा सम्पन्न भयो । अक्टोबर १४ मा रुवान्डाको किगाली स्थिति स्थानीय मन्त्री अनास्तसे सायका अकावाले विश्व सम्मेलनको उद्घाटन गरेका थिए । सो कार्यक्रममा ९४ देशका एक हजारभन्दा बढीको सहभागिता रहेको थियो । आइसिएमा हाल १०९ देशका ३१२ वटा संस्थाहरु आवद्ध रहेका छन् ।
“विकासका लागि सहकारी” भन्ने नाराका साथ सुरु भएको सो सम्मेलनमा युवा,महिला, उर्जा। हाउजिङ लगायतका विभिन्न विषयमा छुट्टा छुट्टै छलफल भएको थियो । सम्मेलनमा दिगो विकास प्राप्तीमा सहकारीको योगदान कसरी सम्भव छ ? भनेर सो सम्मेलनमा गम्भीर छलफल भएको थियो ।
“हामी ग्लोवलाइजेसनको जमानामा छौ, हामी विश्वको दक्षिण वा उत्तरमा बसिरहेका छैनौ । हामी सबै एकै डुगामा सवार गरिरहेका छौ । समाजमा असमानताहरुको पर्खाल उठिरहेको छ, जलवायु परिवर्तन र नयाँ भु राजनीतिले हामी अत्यधिक प्रभावित भइरहेका छौ”युरोपियन पोलीटिकल स्टार्टटेजी सेन्टरका प्रमुख सल्लाहकार तथा युरोपियन आयोगका थिङट्याङका रुपमा रहेका डा.पर्तिक डेभेलत्रेले सम्मेलनको सम्पुर्ण सार बताउँदै भने ।
उनले सन् १९८० देखि नवउदारबाद विश्वमा छाइसकेको बताउदै आइरहेका छन् । उनले नवउदारबादमा धनीहरुले कमाउने र उनीहरुले गर्ने खर्चबाट चुहिएर गरिवको सम्म पुग्ने(ट्रिकल डाउन) आर्थिक संरचना बनाएको र त्यो कहिल्यै जनताकोमा नपुग्ने बताए । उनले ट्रिकल डाउन अर्थव्यवस्थाले समाज डराइरहेको बताउँदै यो सहकारीको लागि गम्भीर चुनौति र अवसर पनि भएको दावी गरे ।
डा.पर्तिकले सहकारीले बैकल्पिक परम्परागत मोडलबारे सोच्नु आवश्यक रहेको बताउदै भने,“हामीले त्यस्तो प्रणालीको शिक्षा दिनुपर्छ जसले मानिसहरु प्रतिष्पर्धा मात्र नभएर सहयोगी भावना जगाउन सकुन। यसको लागि सरकारले शिक्षा प्रणाली नै त्यसैगरी विकास गराउनु पर्दछ यो सम्मेलनमा निक्लेको निष्कर्ष हो” उनले भने ।
उनका अनुसार सहकार्य सहकारीको डिएनए हो,सहकारीले महिलाहरुको नेतृत्व विकासद्धारा देश विकासको लागि योगदान गर्न सक्छन्। उनले सम्मेलनको निष्कर्ष यसरी सुनाए, “सहकारीले असमानतालाई हटाएर समानता ल्याउन चाहन्छ, प्रजातान्त्रिक अम्यासलाई सुधार गर्न चाहन्छ, कमजोर गरिवको नेतृत्व विकास गर्न चाहन्छौ । यस प्रकारको सहभागिताले गरिवी निवारणको लागि सहयोग पुग्दछ भने दिगो विकास लक्ष्य प्राप्तिको लागि पनि सहयोग पुग्दछ जसमा प्रत्येक देशका सरकारले गम्भीर भएर ध्यान दिनु जरुरी रहेको छ ।“
सम्मेलनमा ‘सहकारीविचको सहकार्य‘ भन्ने जुन प्रकारको सिद्धान्त सहकारीमा छ सो सिद्धान्त बमोजिमसहकारीहरु खरो रुपमा उत्रन नसकेको उनले गुनासो गरे । उनले भने, सहकारीहरुले एक आपसमा हातेमालो गरेर काम गर्ने हो भने धेरै गर्न सकिन्छ ।
सम्मेलनमा सहकारीले दुग्धजन्य उत्पादनमा धेरै काम गरेको सुन्न पाइयो तर बैकिङ, हाउजिड र कृषिमा पनि सहकारीले धेरै काम गर्नुपर्ने बताउँदै यदी सम्बन्धीत सहकारीहरुले नै एक आपसमा सहकार्य गरेर अगाडी बढ्न सकेको खण्डमा सहकारी बाहेकका मानिससँग मिलेर आफ्नो व्यवसायलाई बढावा दिन सक्ने डा.पर्तिकले बताए । उनले भने जस्तै, वातावरण आन्दोलन, टे«ड युनियन, महिला आन्दोलन र विभिन्न गैरसरकारी संस्थासँग मिलेर काम गर्न सक्छौ ।
त्यसैगरी सम्मेलनको निष्कर्ष सुनाउदै सेल्फ इम्प्लाय ओमन एसोसिएसनकी अध्यक्ष रिमा नानाभाट्यले पनि सम्मेलनले महिलाहरुको सहभागिता र नेतृत्वलाई जोड दिनुका साथै युवाको बारेमा पनि गम्भीर भएर सोचेको दावी गरिन् ।
खुसी र शान्त पृथ्वी बनाउन र संयुक्त राष्ट्र संघले तय गरेको दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी एउटा महत्वपुर्ण पाटो भएको निष्कर्ष सम्मेलनहको रहेको रिमाले जानकारी दिइन् । उनले सहकारी आन्दोलनले प्राप्त गर्न चाहेको उपलव्धी र दिगो विकासले राखेको लक्ष्य एकै प्रकारको भएकोले सहकारीले महत्वपुर्ण भुमिका निर्वाह गर्न सक्ने बताइन् ।
सहकारी दशक घोषणा
सो सम्मेलनले आगामी दशकलाई “सहकारी दशक”को रुपमा मनाउने निर्णय गरेको छ । सहकारी दशको सन् २०२० देखि सन् २०३० सम्म तोकिएको छ । सन् २०३० लाई संयुक्त राष्ट्र संघले पनि दिगोविकास लक्ष्य प्राप्तिको लागि समयसिमा तोकेको छ । किगालीमा १७ अक्टोबरमा सम्पन्न साधारणसभाले सहकारी आन्दोलन कसरी अगाडी बढ्ने भन्ने बारेमा स्टाटेजी प्लान बनाएको छ । सहकारीले आगामी सहकारी दशकमा सहकारीमा आएका चुनौतिहरुको सामना गर्दै सहकारीको पहिचानलाई कसरी बलियो बनाउने भन्ने तर्फ नै ध्यान दिने अन्तराष्ट्रिय सहकारी महासंघले जनाएको छ । आइसीएका अनुसार यस दशकमा चारवटा मुख्य कुरामा ध्यान दिइने छ । सहकारीको परिचयलाई बढाउने, सहकारी आन्दोलन अझ शसक्त बनाउने,सहकारी सहकारीविच सहकार्य गर्ने र दिगो विकास लक्ष्य प्राप्तिको लागि हरेक सहकारीले आफ्नो स्थानबाट योगदान दिने ।
आइसीए कंग्रेस दक्षिण कोरियामा
आइसीएको साधारणसभाले आइसीएको १२५ औ स्थापना दिवस र को अपरेटिभ कंग्रेस दक्षिण कोरियाको सियोलमा सन् २०२० को डिसेम्बरमा गर्ने निर्णय गरेको छ । आइसीएको स्थापना दिवस भव्य रुपमा सम्पन्न गर्नको लागि पनि सहकारीले उदाहरणीय काम गरेको देश दक्षिण कोरियालाई छानेको जनाएको छ ।
युथ रिजोलुसन स्वीकृत
सम्मेलनमा युवाहरुको उद्यमशिल क्षमताको विकासका लागि उनीहरुलाई नविन वित्तिय उपकरणका साथै समय समयमा टे«निङ दिनु जरुरी रहेको युवाहरुले सम्मेलनमा बताएका थिए । सहकारीमा लागेका युवाले परिवर्तिन समावेशी विश्व निर्माणका लागि योगदान दिन सक्ने उनको ठम्याइ रहेको छ ।
त्यस्तै आइसीए सम्मेलनको अन्तिम दिन आइसीए सन्चालक समितिले युवाहरुको नियमावली, धारा, र बजेटबारेको रिभ्यु गर्नको लागि आग्रह गर्दै युथ नेटवर्कबाट आएको रिजोलुसन स्वीकार गरेको छ । सो रिजोलुसनमा विभिन्न क्षेत्रिय युवा प्रतिनिधिहरुले पनि सन्चालक समितिमा भोट गर्न पाउने अधिकार माग गरिएको छ भने आइसीए ग्लोवल स्टाटेजीमा बजेट सहित युथ एक्सन प्लान बनाउनको लागि पनि सुझाव दिएको छ ।
सो रिजोलुसनमा भनिएको छ, “युवाहरु काम गर्न तयार छन्, सबैभन्दा राम्रो च्यानलको मार्गदर्शन र आइसीएको पुर्ण सहयोगको प्रतिक्षामा छन्।” युवाहरुको नेटवर्कले युवा प्रतिनिधिहरुलाई अन्तराष्ट्रिय कार्यक्रमहरुमा भाग लिनका लागि आर्थिक सहयोग गर्नुपर्ने र युथ कमिटिको बार्षिक मिटिड राख्नुपने माग पनि रिजोलुसन मार्फत राखेका छन् । युथ नेटवर्क सन् २००३ मा स्थापना भएको हो । यसको उदेश्य विभिन्न देशबाट आएका सहकारीमा लागेका युवाहरुबीच अनुभव आदानप्रदान गर्ने र सहकारी आन्दोलनमा सहभागि भइ सहकारी आन्दोलनलाई थप सहज बनाउने भन्ने हो ।
सरकारहरुलाई आव्हान ।
सम्मेलनको दोस्रो सत्रमा सरकारी र अन्तरसरकारी र सहकारीहरुविच नीतिगत तहमा कसरी अगाडी बढ्न सकिन्छ भनेर समेत छलफल भएको थियो । सम्मेलनले सहकारीले विभिन्न तहसँग काम गर्ने भएकोले दिगो विकास लक्ष्य प्राप्तिका लागि प्रभावकारी माध्यम भएको र सरकारले पनि सहकारीको कामको उचित मुल्यांकन गरी सहकार्य गर्नुपर्ने निष्कर्ष रहेको आइसीएकी बोर्ड सदस्य ओमदेवी मल्लले जानकारी दिइन् ।
आइसीएले सरकार र अन्तराष्ट्रिय एजेन्सीहरुलाई सहकारी मार्फत परिवर्तन गर्न सकिने कुरा प्रमाणीत गर्न सक्ने बताउदै त्यसको लागि सहकारी बलियो हुनुपर्ने र सहकारीको आन्तरिक क्षमता विकासको लागि सरकारलाई सहयोग गर्न आव्हान गरेको छ । आइसीएले भनेकोछ,सहकारी गरिवी घटाउनको लागि महत्वपुर्ण टुल भएकोले सरकारले तोकेर कामको जिम्वेवारी दिनुपर्ने निष्कर्ष निकालेको छ ।
“सम्मेलनले सहकारीका अगुवाहरुलाई समाज र अर्थव्यवस्थामा सहकारीको महत्वबारे सम्झाइदिएको छ, त्यस्तैगरी शान्ति र समानताको दिगोपनाको ग्यारेन्टीको लागि विकासको मोडलबारे पुनः सोच्नुपर्ने बेला आएको छ ।”आइसीएका प्रमूख एरियल ग्वार्कोले भने ।
प्रतिक्रिया