काठमाडौं । ‘सहकारीको सप्ताह पुराण लगायो भने पनि बडाल कामरेडले खररर बोल्न सक्नुहुन्छ’ नेपाल कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमले राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव प्रसाद बडालको बारेमा एक कार्यक्रममा गरेको टिप्पणी हो यो, यसले सहकारीमा बडालको छविलाई केहि हदसम्म चित्रित गरेको छ । पछिल्लो समयमा ‘सहकारी भनेकै बडाल र बडाल भनेकै सहकारी’ जस्तो छवि बनाएका बडाल एक दशकको नेतृत्वसँगै सहकारीको सर्वोच्च छाता निकाय राष्ट्रिय सहकारी महासंघको नेतृत्वबाट बिदा हुदैछन् । उनको बर्हिगमनसँगै सहकारी वृत्तमा ‘वडाल युग’ कै अन्त्य हुन लागेको टिप्पणी हुन थालेको छ ।
१० वर्षअघि तत्कालिन राष्ट्रिय सहकारी संघको अध्यक्षका रुपमा सहकारीको नेतृत्व सुरु गरेका बडाल पुस २४—२५ गते हुने साधारणसभाबाट नेतृत्व हस्तान्तरण गर्दैछन् । संचालक समितिको बैठकमै आगामी नेतृत्वमा आफ्नो दावेदारी नरहेको घोषणा स्वयंमले गरेसँगै सहकारीमा बडाल युगको अन्त्य हुने भएको छ ।
पछिल्लो समयमा ‘सहकारी भनेकै बडाल र बडाल भनेकै सहकारी’ जस्तो छवि बनाएका बडाल एक दशकको नेतृत्वसँगै सहकारीको सर्वोच्च छाता निकाय राष्ट्रिय सहकारी महासंघको नेतृत्वबाट बिदा हुदैछन् ।
भूमि सुधारका अभियन्ता, किसानका नेता, पूर्व मन्त्री, सांसद, सभासद् र नेपाल कम्युनिष्ट पार्टीका नेताको समेत भूमिकामा काम गरेका बडाल एक दशक नेतृत्वसँगै सबै परिचयलाई पछि पार्दै सहकारीको नेताका रुपमा आफुलाई उभ्याए । देश—विदेशसम्म नेपाली सहकारी नेताको रुपमा आफ्नो परिचय स्थापित गरे ।
सहकारी ऐन—२०४८ को मस्यौदाकारमध्ये एक रहेका बडाल स्वयंम संविधानसभाको सभासद् र महासंघको अध्यक्ष रहदा सहकारी ऐन—२०७४ जारी भयो । यस अर्थमा नेपालको सहकारी अभियानलाई कानुनी आधार सहित संस्थागत गर्नका उनले नेतृत्वदायी भूमिका खेल्ने अवसर पाए ।
महासंघको नेतृत्वमा आएसँगै बडालले आफुलाई सहकारीमै समर्पित गरिदिए । जसका कारण यो एक दशक सहकारी भनेकै बडाल र बडाल भनेकै सहकारी जस्तो देखियो । हुन पनि उनी हरेक बैठक, भेला, सभा सम्मेलनमा सहकारीकै लविङमा लागे । यसै कारण उनको अनुहार देख्यो कि ‘अब बडाल आए, सहकारीको बखान सुरु हुन्छ’ भन्ने भयो । औपचारिक होस् या अनौपचारिक कार्यक्रम उनी उपस्थित भएसँगै सहकारीको बहस सुरु भइहाल्थ्यो । उनका अगाडी कसैले सहकारीको विरोध ग¥र्यो कि त्यसका विरुद्ध उग्र रुपमा प्रस्तुत भइहाल्थे उनी ।
बडालले आफ्नो कार्यकालमा नेपालको सहकारी अभियानलाई देशभित्र स्थापित गराउदै अन्तर्राष्ट्रिय स्तरसम्म पहिचाहन गराउन भूमिका खेले । अव संविधानमै सहकारीलाई अर्थतन्त्रको एक खम्बाको रुपमा स्थापित गरिसकेका कसैले चाहेर पनि सहकारी आन्दोलनलाई कमजोर बनाउन नसक्ने अवस्थामा छ ।
सहकारी महासंघलाई स्थापित गर्न समेत बडालले भूमिका निर्वाह गरे । विजुलीबजारमा भाडामा बसेको महासंघलाई पुल्चोकमा आधुनिक भवन निर्माण गरी सार्नमा उनैले नेतृत्व गरे । नेपालमा सहकारीको संख्यात्मक विकास भएपनि गुणात्मक विकासको अवस्था दयनिय नै छ । सहकारीमा देखिएको विकृती केलाउने हो भने यसले मूल सिद्धान्त, मान्यता र मर्म विर्सिएर नाफामुखी व्यवसायका रुपमा समेत दुरुपयोग भएको देखिन्छ । सर्वसाधारणबाट बचत उठाएर फरार हुने र गलत काम गर्ने संचालकहरुले उन्मुक्ती पाउनेसम्मको अवस्था विद्यमान छ ।
संविधानमै सहकारीलाई अर्थतन्त्रको एक खम्बाको रुपमा स्थापित गरिसकेका कसैले चाहेर पनि सहकारी आन्दोलनलाई कमजोर बनाउन नसक्ने अवस्थामा छ ।
बचत तथा ऋण बाहेकका क्षेत्रमा सहकारीको उपस्थिती कमजोर छ । अर्थतन्त्रको एक खम्बा मानेपनि देशको कुल ग्राहस्थ उत्पादनमा सहकारीको भूमिका नगन्य नै छ । सहकारीले काम गर्नुपर्ने उत्पादन, वितरणलगायत सेवा क्षेत्रमा अघि बढ्न सकेको छैन । यी यावत विकृतीको मूख्य जिम्मेवारी पनि बडालले लिनुपर्छ । यसअर्थमा कि उनले सहकारी आन्दोलनलाई सहि बाटोमा डो¥याउन चुके ।
आफ्नो कार्यकालमा बडाल व्यक्तिगत स्वभावका कारण पनि चर्चामा रहे । आफुलाई मन नपर्ने कुरामा झनक्कै रिसाउने र विरोधीलाई ठाउ को ठाउ धर्काउने उनको स्वभाव चर्चामा रह्यो । सहकारीकर्मी त उनको स्वभावबाट भुक्ताभोगी थिए नै, राष्ट्रिय टेलिभिजन कार्यक्रममै रिसाएको देखेपछि उनको रिसाहा स्वभावबारे आम नेपाली परिचित हुने मौका पाए ।
हरेक अन्तर्राष्ट्रिय कार्यक्रममा जानै पर्ने, सहकारीको आडमा देश विदेश घुम्न रुचाउने नेताका रुपमा उनको आलोचना भयो । यस्तै सहकारीका कार्यक्रममा उनले गर्ने ‘घण्टौं’ भाषणले पनि उनले लामो भाषण गर्ने नेताको परिचय दियो । भलै पछिल्ला दिनहरुमा जब उनी हर्ट अट्याकलाई जितेर आए—‘केशव बडाल लामो मात्र बोल्दैन’ भन्दै भाषण छोट्याउन थालेका छन् ।
सहकारीका विकृत्तीबारे चुइक्क नबोल्ने भन्दै आलोचना खेपिरहेका बडाल पछिल्लो समय भने लचिलो रुपमा प्रस्तुत भइरहेका छन् । पछिल्लो समय सहकारीमा सन्दर्भ व्याजदर लागू गर्ने पक्षमा उनी दरिलो रुपमा समेत प्रस्तुत भए । यसैगरी पछिल्ला उनका भाषणहरुमा सहकारीका विकृत्तीप्रति समेत केन्द्रीत हुन थालेका थिए ।
सहकारीकर्मी त उनको स्वभावबाट भुक्ताभोगी थिए नै, राष्ट्रिय टेलिभिजन कार्यक्रममै रिसाएको देखेपछि उनको रिसाहा स्वभावबारे आम नेपाली परिचित हुने मौका पाए ।
महासंघको अध्यक्ष नभए पनि सहकारीप्रतिको प्रेमका कारण बडाल आफ्नो जीवनकाल सहकारीबाट अलग हुन त सक्दैनन् नै । तर, सहकारी क्षेत्रमा भने उनको बोलवाला घट्न अनुमान सजिलै गर्न सकिन्छ । पार्टीको सहकारी विभागमा नयाँ पुस्ता आइसकेको छ । उनलाई पार्टीको सल्लाहकार परिषद्मा राखिएकाले एक हिसावलाई उनलाई थन्क्याइएको विश्लेषण गरिएको छ । उमेरको हिसावले समेत उनको सक्रियता घट्ने सहजै अनुमान गर्न सकिन्छ ।
अब महासंघको नेतृत्व नयाँ आउने पक्का छ । अहिलेसम्म ‘बडालको स्कूलिङ’बाट अघि बढिरहेको सहकारी अभियान कसरी अघि बढ्ला त्यसका लागि केहि समय कुर्नपर्छ ।
प्रतिक्रिया