काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संंघ (नेफ्स्कून) ले संचालन गर्दै आएको प्रोवेशन ब्राण्डमा हस्ताक्षर गर्न सहकारीकर्मीहरुले रजिष्टार डा. टोकराज पाण्डेलाई दवाव दिएका छन् । प्रोवेशन ब्राण्डलाई विभागले ऐन विपरित प्रमाणीकरण गर्दै आएको थियो ।
२०७६ सालको ब्राण्डमा हस्ताक्षर गर्न रजिष्टार पाण्डेले अस्विकार गरेपछि नेफ्स्कूनले विभिन्न माध्यमबाट रजिष्टारलाई दवाव दिन थालेको विभाग स्रोतले बताएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्याल, सचिव सूर्य प्रसाद गौतमका साथै सहकारी महासंघका अध्यक्ष केशव प्रसाद बडालमार्फत दवाव दिएका हुन् ।
रजिष्टारलाई मनाउनका लागि अध्यक्ष बडाल मंगलबार विभाग नै पुगेका थिए । रजिष्टारले भने ब्राण्डमा हस्ताक्षर गर्ने अधिकार आफुलाई नभएको भन्दै पन्छिएका थिए ।
नेफ्स्कूनले २०७४ सालदेखि संस्थाहरुमा गुणस्तर सुनिश्चितता गर्ने भन्दै ब्राण्डिङ कार्यक्रम संचालन गरिरहेको छ । गत वर्ष यस कार्यक्रमबाट २१ वटा संस्थाले ब्राण्ड पाएका थिए ।
अघिल्लो वर्ष नेफ्स्कूनले तत्कालिन रजिष्टार केशव रेग्मीलाई प्रभावमा पारी हस्ताक्षर गराएको थियो ।
प्रोवेशन ब्राण्डका लागि नेफ्स्कून र स्वतन्त्र अडिटरले मात्र लेखापरिक्षण गर्छन् । विभागले हस्ताक्षर गरेपनि अनुगमनमा संलग्नता छैन । आफुले अनुगमन नै नगरी विभागका अधिकारीले अन्धाधुन्ध हस्ताक्षर गर्दै आएका छन् ।
प्रतिक्रिया