काठमाडौ । सहकारी क्षेत्रको छाता निकाय राष्ट्रिय सहकारी महासंघको निर्वाचन सहितको साधारणसभा नजिकिदै गर्दा भावि नेतृत्वको बहसले सहकारी क्षेत्र तातेको छ । महासंघको साधारणसभा पुस २४—२५ गते काठमाडौंमा हुदैछ । साधारणसभाले नयाँ कार्यसमिति समेत चयन गर्दैछ । चुनावी मिती नजिकिदै गर्दा नेतृत्वमा दावी गर्दै आफ्नो पक्षमा पार्न नेताहरु आफनो लविङमा लागेका छन् ।
सहकारी अभियानलाई कसरी अगाडी बढाउने, सहकारीका नीति नियमहरु बनाउदा कसरी सहकारीमैत्री बनाउने ? समग्र सहकारीका समस्या र गुनासो सम्बन्धीत निकायसँग बसेर कसरी समाधान गर्ने भन्ने विषयमा आफ्नो स्पष्ट भिजन राख्न सक्ने क्षमता भएको अध्यक्ष निर्वाचित गर्नुपर्ने महासंघको मुख्य दायित्व छ । तर, राष्ट्रिय सहकारी महासंघको नेतृत्व हत्याउनका लागि भने सहकारीका नेताहरु राजनीतिक पार्टीको ढोका ढोका चहारी रहेका छन् ।
महासंघमा भावी अध्यक्षको दावेदारका रुपमा वर्तमान बरिष्ठ उपाध्यक्ष मिनराज कँडेल र लेखा समिति संयोजक धर्मदत्त देवकोटा देखिएका छन् । यसैगरी अर्की उपाध्यक्ष ओमदेवी मल्लले पनि आफुलाई दावेदारको रुपमा प्रस्तुत गर्दै आएकी छिन् । तीनैजना पार्टी नेतृत्वलाई भेटिर महासंघको नेतृत्वका लागि आफू तयार रहेको र आफ्नो पक्षमा निर्णय गर्न लविङ गरिरहेका छन् ।
देवकोटा र कँडेल दुवै नेकपा निकट हुन् । देवकोटा नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचन्ड)का दाहिने हात मानिन्छन् भने कँडेल नेकपाकै वरिष्ठ नेता माधव कुमार नेपाल निकट मान्छिन् ।
हाल कँडेल महासंघका बरिष्ठ उपाध्यक्ष हुन् सोही नाताले पनि उनको अध्यक्षको दावेदार स्वभाविक नै हो तर देवकोटा भने हाल महासंघको लेखा समिति संयोजक हुन् । उनी नेकपाको सहकारी इन्चार्ज समेत रहेकोले सहकारी क्षेत्रको नेतृत्व आफूले गर्न पाउनुपर्ने माग राख्दै आएका छन् ।
को हुन् मिनराज कँडेल
महासंघको वरिष्ठ उपाध्यक्ष रहेका कँडेल २०४८ साल देखि अनवरत रुपमा सहकारी क्षेत्रमा काम गरिरहेका छन् । धादिङको जनकल्याण बचत तथा ऋण सहकारीको उनले १२ बर्ष नेतृत्व गरेका थिए । त्यसैगरी उनले जिल्ला सहकारी संघ धादिङको अध्यक्षका रुपमा १५ वर्ष काम गरेका थिए । केन्द्रिय बचत तथा ऋण सहकारी संघ (नेफ्स्कून) को उपाध्यक्ष हुदै दुई कार्यकाल अध्यक्ष भएका कँडेल अहिले महासंघको अध्यक्ष पदको दावेदार हुन् । उनी एसिया प्रसान्त क्षेत्रका बचत तथा ऋण सहकारीहरुको फोरम (अक्कु) को उपाध्यक्ष समेत रहेका थिए । साथै उनी तत्कालिन नेकपा एमाले हाल नेकपा का पार्टी सदस्य पनि हुन् ।
उनलाई अध्यक्ष बनाउनका लागि सहकारी महासंघका हालका अध्यक्ष केशवप्रसाद बडाल लागिपरेका छन् । उनले आफ्नो तर्फबाट मिनराज कँडेल अध्यक्ष ठिक छ भन्दै लविङ गरेका छन् । तर कडेँलको नेतृत्व शक्ति कमजोर रहेको भन्दै उनीविरुद्ध राष्ट्रिय सहकारी बैकका अध्यक्ष केवी उप्रेतिको नेतृत्वमा केही नेपाली कांग्रेस निकट नेताहरु लागिपरको छन् । विषेशगरी सन्दर्भ व्याजदर लागु गराउन उनको मुख्य भुमिका रहेको भन्दै अन्य सहकारीकर्मीहरु उनीविरुद्ध खनिएका छन् । यसको नेतृत्व केवी उप्रेतिले गरिरहेका छन् ।
को हुन् धर्मदत्त देवकोटा
महासंघका अर्का आकांक्षी धर्मदत्त देवकोटा नेकपाका फुल टाइम कार्यकर्ता हुन् । नेकपा एमाले र माओवादी मर्ज भएर बनेको नेकपामा उनी सहकारी विभागको इन्चार्जको रुपमा रहेका छन् । इन्चार्जको हैसियतमा उनले सहकारी महासंघमा आफूले नेतृत्व गर्न पाउनुपर्ने दावी गरिरहेका छन् । सहकारी क्षेत्र पटक्कै नवुझेका उनी कुन संस्थाबाट महासंघमा प्रतिनिधि भएर छिरे भन्नेसम्मको हेक्का महासंघका अध्यक्ष केशवप्रसाद बडाललाई समेत छैन ।
पार्टीले कुनै न कुनै विभाग दिएर थन्क्याउनुपर्ने भएकोले उनलाई सहकारी विभाग दिइएको हो । उसो त हालका अध्यक्ष बडाल पनि सहकारी क्षेत्रका विज्ञ भने थिएनन् । उनलाई पनि पार्टीले नै टपक्क टिपेर महासंघको जिम्वेवारी दिएका हुन् । सोही कुरा देखाएर देवकोटा महासंघको अध्यक्ष हत्याउने दाउमा छन् । देश विदेश भ्रमणमा पनि जान पाइने आकर्षक पद भएकोले पनि उनी महासंघको अध्यक्षको लागि मरिहत्ते गरेर लागेका छन् । उनको महत्वकांक्षालाई बढावा दिन केवी उप्रेति लगायतको जमात लागिरहेको छ । महासंघसँग रुष्ट भएका उप्रेतिले उनलाई काखी च्यापेर अध्यक्षको दावेदारको रुपमा प्रस्तुत गरिरहेका छन् ।
ओमदेवीको पनि चाहना अध्यक्षमा नै
महासंघको अध्यक्षको लागि प्रतिष्पर्धामा रहेकी ओमदेवी मल्ल अहिले भने चुप बसेकी छिन् । नेपाली कांग्रेस परित्याग गरेर नेकपा प्रवेश गरेकी मल्ललाई वरिष्ठ उपाध्यक्ष निर्विरोध चयन गर्ने संकेत देखिएको छ । सहकारी महासंघलाई अहिलेको स्थानमा ल्याउन ठूलो भुमिका खेलेकी उपाध्यक्ष मल्ल अहिले अन्तराष्ट्रिय सहकारी महासंघ (आइसीए)की ग्लोवल बोर्ड डाइरेक्टर छिन् । उनी आइसीएको बोर्डमा भएकोे र हाल उपाध्यक्ष भएकोले पनि उनको दावी स्वतः अध्यक्षमा हुनु स्वाभाविक नै थियो । त्यस्तै उनी २०५५ सालदेखि सहकारी क्षेत्रमा अनवरत रुपमा क्रियासिल छिन् । उनी भारतमा सहकारी सम्बन्धी डिप्लोमा कोर्स गर्ने पहिलो महिला पनि हुन् । त्यस्तै महासंघमा पहिलो पटक कार्यकारी सन्चालक र दोस्रो पटक उपाध्यक्ष भएकी एक मात्र महिला हुन् । उनले महासंघमा महिला उपाध्यक्ष हुनुपर्छ भनेर ठूलो लविङ गरेर महिला उपाध्यक्षको पद स्थापित गराउन सफल भइन् । उनी सहकारी विकास बोर्डमा दुईपटक विज्ञसन्चालकको रुपमा पनि नियुक्त भएकी छिन् । उनले रिलायवल सहकारीमा अध्यक्ष भएर सन्चालन गरेको १५ बर्ष पुगीसकेको छ । हाल उनी कृषिसंघ ललितपुरकी अध्यक्ष हुन् । बन्द हुन लागेको कृषि संघलाई राम्रोसँग चलाउन सक्षम भएकी छिन् उनी । अर्कोतर्फ संविधानसभा सदस्य समेत भएकी मल्लको महासंघको अध्यक्षको दावेदार उचित थियो । तर उनले आफू बरिष्ठ उपाध्यक्षमा बस्न मन्जुर गरेको बुझिएको छ । तर उनीभन्दा सिनियर कँडेल हुदा हुदै अध्यक्षको लागि हतार नगर्न अध्यक्ष बडालले आग्रह गरेपछि उनी बरिष्ठ उपाध्यक्षमा नै बस्ने सोच बनाएकी छिन् ।
महासंघको उपाध्यक्षको लागि भने रमेश पोखरेल, सुरेन्द्र भण्डारी र दक्ष पौडेल दौडमा छन् । अध्यक्षको अति निकट रहेर काम गरेका पोखरेललाई अध्यक्ष बडालले खुलेआम सपोर्ट गरिरहेका छन् । तर नेपाली कांग्रेस निकट रहेका सहकारीकर्मीलाई बायस गरेर जादा काम गर्न अप्ठेरो पर्ने भएकाले सबैलाई मिलाएर लैजानुपर्ने देखिन्छ । तर पोखरेललाई जुनसुकै हालतमा पनि उपाध्यक्ष बनाउनुपर्ने अडानमा रहेका बडाल अन्य जुनसुकै पदमा सम्झौता गर्न तयार रहेको स्रोतले बतायो । स्रोतका अनुसार बडालले अरु सबै पद विपक्षीले भनेझै गरिएपनि उपाध्यक्ष पद भने आफूले भनेको पोखरेलकै लागि हुनुपर्ने अडान पार्टी समक्ष राखेका छन् ।
प्रतिक्रिया