काठमाडौं । सरकारले लकडाउनको समयअवधि बैशाख ३ गतेसम्म पुर्याएको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणलाई नियन्त्रण तथा रोकथामका लागि सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले लकडाउनको समयअवधि थपेको हो ।
सरकारले गत चैत्र ११ गतेदेखि १८ गतेसम्म पहिलो र चैत २५ गतेसम्मका लागि दोस्रो पटक लकडाउन गरेको थियो । दोस्रो लकडाउनको म्याद सकिन लागेको अघिल्लो दिन समयअवधि एक साता थप गरेको हो ।
कोरोना भाइरस नियन्त्रण गर्नका लागि विश्वका अधिकांश देशहरुले लकडाउनको उपाय अपनाउदै आएका छन् ।
मानिसहरुको भिडभाडले भाइरस संक्रमण तिव्र रुपमा फैलने भएकाले आवतजावत रोक्न लकडाउन गरिएको हो ।
लकडाउनका अवधिमा अत्यावश्यक काम बाहेक घरबाहिर निस्कन सर्वसाधारणलाई निषेध गरिएको छ ।
नेपालमा हालसम्म ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । त्यसमध्ये एक जनाको उपचारपछि निको भइ घर फर्केका छन् भने ८ जना उपचाररत छन् ।
कोरोना संक्रमितमध्ये ८ जना विदेशबाट फर्केका हुन् भने एक जनालाई परिवारबाटै संक्रमण भएको पुष्टि भएको छ ।
प्रतिक्रिया