काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमण रोक्नका लागि देशलाई लकडाउन गरेको छ । लकडाउनका कारण वित्तीय कारोबार गर्ने अधिकांश सहकारीहरुले हाल न्यूनतम सेवा मात्र दिइरहेका छन् । तर, लकडाउन खुलेपछिको सहकारीलाई बचतकर्ताको निक्षेप फिर्ता गर्न समस्या हुने भन्दै अहिलेदेखि नै तयारी थाल्नुपर्ने सरोकारवालाहरुले बताएका छन् ।
नेपाल सहकारी पत्रकार समाजले सोमबार गरेको भिडियो कन्फ्रेरेन्समा बोल्दै सरोकारवाहरुले तरलता व्यवस्थापनका लागि अहिलेबाटै योजना बनाउनुपर्ने आवश्यक्ता औल्याएका हुन् ।
कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) बद्री गुरागाईले लकडाउन खुलेपछि सदस्यहरु आएर धमाधम बचत निकाल्न थालेको खण्डमा आउने अवस्थाबारे अहिले नै सचेत हुनुपर्ने बेला आएको बताउछन् । ‘लकडाउन खुलेपछि सहकारीलाई बचत फिर्ता गर्ने चाप बढ्न सक्छ’ उनले भने, ‘त्यसका लागि अहिलेदेखि नै तरलता व्यवस्थापनको योजना बनाउनुपर्छ ।’
सहकारी विभागका रजिष्टार डा. टोकराज पाण्डेले सहकारीका सदस्यहरुले समस्या परेको समयमा गर्जो टार्नका लागि बचत गरेको भएकाले त्यो बचत बचतकर्ताले चाहेको समयमा पाउन सक्ने बाताबरण बनाउनु पर्ने बताए । सहकारीको तरलताको समस्या हल गर्नका लागि सरकारले दिने सहुलियतपूर्ण कर्जाको साथै युवा स्वरोजगार कोषको पैसा सहकारीमार्फत समेत परिचालन गर्न पहल सुरु गरिएको उनले जानकारी दिए ।
सहकारी महासंघका अध्यक्ष मिनराज कंडेलले भने तरलताको योजना बनाउनका लागि वित्तीय कारोबार गर्ने संघहरु र बैंकसँग छलफल गर्न लागिएको जानकारी दिए । उनले सहकारी संस्थाहरुले ब्याजदरका साथै समग्र सहकारीको क्षेत्रमा सहुलियत दिनको लागि सहकारी अभियान, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सहकारी विभाग बसेर छलफल गर्ने समेत बताए ।
प्रतिक्रिया