काठमाडौं । सहकारी संस्थाहरुलाई वित्तीय सेवा प्रदान गर्ने दुई निकाय नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) र राष्ट्रिय सहकारी बैंकको सहकार्य हुने खबरले सहकारीकर्मीमा खुशीयाली छाएको छ । दुई निकायबिच सहकार्य गर्ने समाचार सार्वजनिक भएसँग सामाजिक संजालहरुमा सहकारीकर्मीले स्वागत गरेका हुन् ।
बुधबार नेफ्स्कून र सहकारी बैंकबिच कोरोना संक्रमणका कारण बचत तथा ऋण सहकारीलाई पर्नसक्ने वित्तीय संकट र त्यसलाई सम्बोधन गरी समयमै वित्तीय व्यवस्थापनका लागि सहकार्य गर्ने सहमति भएको थियो । यसैगरी सहकार्यका लागि साझेदारीका क्षेत्र तय गर्नका लागि नेफ्स्कुनका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालको संयोजकत्वमा समिति नै निर्माण गरिएको छ ।
समितिमा नेफ्स्कूनका महासचिव दामोदर अधिकारी, कोषाध्यक्ष दिपक पनेरुका साथै बैंकका संचालकहरु सरिता भट्टराई, ज्ञान बहादुर तामाङ र रामहरी बजगाईं छन् । यसैगरी दुई संस्थाका प्रमुख कार्यकारी अधिकृत पदेन सदस्य रहने व्यवस्था गरिएको छ ।
सरकारले कोरोना भाइरसको संक्रमण रोक्न गरेको लकडाउन खुल्नेवित्तीकै सहकारी क्षेत्रमा तरलताको अभाव हुने भन्दै संचालकहरु अत्तालिएका छन् । यो अवस्थामा सहयोग गर्नका लागि राष्ट्रिय सहकारी महासंघले तरलता कोष बनाउने प्रयास गरेपनि सफल भएन ।
त्यसपछि बैंक र नेफ्स्कून मिलेर तरलता कोष बनाउन लागेका हुन् । यसैगरी दुवै निकायबिच लामो समयसम्म सहकार्य गर्ने वातावरण बनाउनकै लागि समिति बनाइएको बताइएको छ ।
नेफ्स्कून बचत तथा ऋण सहकारीहरुको केन्द्रीय छाता संगठन हो । यसैगरी सहकारी बैंक सहकारी संघसंस्थाहरुको एकमात्र बैंक हो ।
बैंक र नेफ्स्कूनबिच लामो समयदेखि प्रतिस्पर्धा हुदै आएको छ । बैंकका अधिकारीहरुले नेफ्स्कून केन्द्रीय संघ भएपनि बैंकको जस्तो वित्तीय कारोबारमा केन्द्रीत भएको र नेफ्स्कूनका अधिकारीहरुले बैंकलाई केन्द्रीय संघजस्तो राजनीतिमा सक्रिय भएको आरोप प्रत्यारोप गर्दै आएका छन् ।
शाखा विस्तारका साथै प्रारम्भिक संस्थाहरुमा लगानीलगायतका सेवा प्रवाहमा यी दुईबिच समेत प्रतिस्पर्धा छ ।
दुई प्रतिस्पर्धी संस्था सहकार्यका लागि एक भएपछि सहकारीकर्मी खुशी भएका हुन् ।
काठमाडौं नयाँबानेश्वरस्थित सहयात्री बचत तथा ऋण सहकारी संस्थाका कार्यकारी अध्यक्ष खेमराज सुवेदीले सहकार्य जरुरी थियो, अभियन्ताहरुलाई बधाई लेखेका छन् ।
यसैगरी चन्द्रागिरी बचत तथा ऋण सहकारीका प्रमुख कार्यकारी अधिकृत कृष्ण कुमार श्रेष्ठले पनि जटिल परिस्थितमा अभियान एक्यबद्ध भएर अगाडी बढ्न खोज्नु स्वागतयोग्य भएको प्रतिक्रिया दिएका छन् ।
प्रतिक्रिया