काठमाडौं । नेपाल राष्ट्र बैंकले पूर्वराजाको तस्बिर अंकित भएको नोट बजारबाट हटाउने भएको छ । केन्द्रीय बैंकले बैंक तथा वित्तिय संस्थाहरुलाई निर्देशन जारी गर्दै पूर्व राजाको तस्बिर अंकित नोट चलन चल्तीको लागी बजारमा नपठाउन निर्देशन दिएको हो ।
राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले क्लीन नोट नीति अन्तर्गत सो निर्देशन जारी गरेको हो ।
राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले सर्वसाधारणसँग भएको नोट बैंकहरुले लिने तर बैंकहरुले भने बजारमा नपठाउने व्यवस्था गरेको जानकारी दिए ।
राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरुलाई झुत्रिएको, मक्किएको, जलेको गलेको चित्र तथा सुरक्षण विशेषहरु नबुझिने, वा रंग विग्रेको,च्यातिएको, छपाई विग्रेको नोटहरु पुन बजारमा नपठाउनका लागि निर्देशन दिएको छ ।
त्यस्तै बैंक तथा वित्तीय संस्थाले अयोग्य नोटहरुलाई आफ्नो नोट कोष वा केन्द्रीय बैंकको पहुँचमा नभएका वित्तीय संस्थाले अन्य बैंकको नोट कोषमा जम्मा गर्नुपर्नेछ । जम्मा भएको अयोग्य नोटलाई सम्बन्धित बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकमा जम्मा गर्नुपर्नेछ ।
परिपत्रअनुसार अबदेखि बैंक तथा वित्तीय संस्थाले नोटलाई तीन भागमा विभाजन गर्नुपर्नेछ । बैंकहरुले एटीएमबाट पठाउने रकमलाई हरियो, काउन्टरबाट पठाउनेलाई सेतो र अयोग्यलाई रातो रंगको क्लिप प्रयोग गर्नुपर्ने छ । यसरी भुक्तानी गर्न योग्य नोटलाई निश्चित प्रकृया अपनाई जिवाणु तथा भाइरस रहित गनुपर्ने व्यवस्था पनि गरिएको छ। साथै नोट राख्ने दराज तथा भल्ट पनि सफा राख्न, प्रकाश र हावा छिर्ने ठाउँ बनाउन निर्देशन दिइएको छ ।
त्यस्तै राष्ट्र बैंकले नोटमा स्टिचको प्रयोग नगरी रवर वा प्लाष्टिकको वैन्ड प्रयोग गर्न र नोटमा केरमेट नगर्न पनि आग्रह गरेको छ ।
प्रतिक्रिया