काठमाडौं । जिल्ला सहकारी संघ काठमाडौंले जिल्लाभर कार्यक्षेत्र रहेका सहकारी संस्थाहरुको तरलता समस्या समाधानका लागि ‘तरतला कोष’ स्थापना गर्ने भएको छ । कोभिड १९ का कारण जिल्लाका अधिकांश सहकारीहरुमा तरलताको समस्या आउन सक्ने सम्भावनालाई मध्यनज गर्दै र आगामी हुनसक्ने महामारीबाट संस्थालाई जोगाई राख्नका लागि ‘तरलता कोष’को स्थापना गर्न लागेको हो ।
जिल्ला सहकारी संघ काठमाडौका अध्यक्ष ज्ञानबहादुर तामाङका अनुसार संघले ‘तरलता कोष’ सम्बन्धी कार्यविधि बनाइरहेको छ, केही दिनमा नै सन्चालक समितिको बैठक बसेर पास गरी लागु गरिने छ ।
बचत तथा ऋण सहकारी संस्थाहरुमा लागु भएको पल्स मनिटरिङ सिष्टम अनुसार कुल निक्षेपको १५ प्रतिशत तरलता सहकारी संस्थाहरुले नगदमा राख्नुपर्ने हुन्छ ।
त्यस्तै काठमाडौ जिल्लाका सम्पुर्ण सहकारीहरुले आफ्नो कुल निक्षेपको १५ प्रतिशत रकम नगद राख्नुपर्छ । सो नगदको २.५ प्रतिशतसम्म नगद रकम जिल्ला संघ काठमाडौले खडा गर्न लागेको कोषमा जम्मा गर्नुपर्ने प्रावधान सहितको कार्यविधि बनाउन लागेको तामाङले जानकारी दिए ।
तामाङका अनुसार कोषमा सहकारी संस्थाको आकार हेरेर रकम राख्ने व्यवस्था गरिने छ । पछिल्लो समयमा कोभिड १९ का कारण काठमाडौं उपत्यका अधिकांश सहकारी संस्थाहरुमा तरलताको समस्या देखा पर्न थालेको छ । सहकारी विभागले गरेको अध्ययनमा सहकारी संस्थाहरुको तरलतामा बृद्धि भएको रिपोर्ट आएपनि केही सहकारी संस्थाहरुमा भने तरलताको समस्या देखापरिरहेको छ ।
काठमाडौं भित्रका अधिकांश सहकारीहरुले कोभिड १९ का कारण सकारले गरेको लकडाउनमा पुर्ण रुपमा कार्यालय सन्चालन गर्न पाएनन् । जसले गर्दा सदस्यहरुसँग बचत संकलन गर्न सकेनन् । तर बचतकर्ताहरु निक्षेप फिर्ताको लागि भने दैनिकजसो कार्यालयमा आइरहेका कारण केही सहकारी संस्थासँग तरलता अभाव भएको छ ।
“अहिले कतिपय सहकारीहरु राम्रोसँग चल्दा चल्दै पनि तरलताको अभावमा छटपट्नि बाध्य छन् । उनीहरुलाई यो समस्याबाट मुक्त गराउन र पछि आउने यस्ता महामारीबाट संस्थाहरुलाई जोगाउनका लागि पनि कोषको स्थापना गर्न लागिको हो ।’ तामाङले भने ।
तामाङका अनुसार सो कोष स्थापना गरेपछि सहकारी संस्थाहरुले कोषमा जम्मा गरेको रकमको पनि उचित व्याज दिइने छ भने कोषको रकम चलाउने सहकारी संस्थालाई पनि सहुलियत व्याजमा नै ऋण दिने व्यवस्था गरिने छ ।
प्रतिक्रिया