काठमाडौं । जिल्ला सहकारी संघ लि. काठमाडौंले जिल्लाभर कार्यक्षेत्र रहेका सहकारी संस्थाहरुमा विभिन्न कारणले पर्नसक्ने तरलता समस्याको दिर्घकालिन समाधानका लागि ‘तरतला व्यवस्थापन कोष’ स्थापना गर्ने भएको छ ।
कोभिड–१९ का कारण जिल्लाका अधिकांश सहकारीहरुमा तरलताको समस्या आउन सक्ने सम्भावनालाई मध्यनजर गर्दै र आगामी हुनसक्ने भएकोले संस्थालाई त्यस्ता समस्याबाट जोगाई राख्नका लागि ‘तरलता व्यवस्थापन कोष’को स्थापना गर्न लागेको हो ।
जिल्ला सहकारी संघ लि. काठमाडौका अध्यक्ष ज्ञानबहादुर तामाङका अनुसार संघले ‘तरलता व्यवस्थापन कोष’ सम्बन्धी सञ्चालन तथा व्यवस्थापन कार्यविधि बनाइरहेको छ, केही दिनमा नै सन्चालक समितिको बैठक बसेर पास गरी लागु गरिने छ ।
काठमाडौ जिल्लाका सम्पुर्ण सहकारीहरुले आफ्नो कुल निक्षेपको १५ प्रतिशत रकम तरलतामा गणना गरि उक्त तरलताको ०.२५–२.५ प्रतिशत बचत संस्थाको सम्पूर्ण कारोबारको आधारमा जिल्ला सहकारी संघ लि. काठमाडौले खडा गर्न लागेको कोषमा जम्मा गर्नुपर्ने प्रावधान सहितको कार्यविधि बनाउन लागेको तामाङले जानकारी दिए ।
तामाङका अनुसार कोषमा सहकारी संस्थाको आकार हेरेर रकम राख्ने व्यवस्था गरिने छ । पछिल्लो समयमा कोभिड १९ का कारण मात्र नभई अन्य विविध कारणले सहकारी संस्थाहरुमा तरलताको समस्या देखा परेमा सो कोषबाट व्यवस्थापन गर्ने जानकारी समेत दिएका छन् ।
कोभिड १९ का कारण सरकारले लकडाउन गरेपछि अधिकांश सहकारीहरुका सदस्यहरुको व्यवसाय बन्द हुन गई संस्थामा पनि त्यसको प्रभाव पर्न गएकोले अभियानको तर्फबाट व्यवस्थित गर्नका लागि जिल्ला सहकारी संघ लि. काठमाडौले यो कदम चाल्न लागेको समेत जानकारी दिए ।
तामाङका अनुसार सो कोष स्थापना गरेपछि सहकारी संस्थाहरुले कोषमा जम्मा गरेको रकमको पनि उचित व्याज प्रदान गरिने छ भने कोषको रकम चलाउने सहकारी संस्थालाई पनि सहुलियत व्याजमा नै ऋण दिने व्यवस्था गरिने छ ।
प्रतिक्रिया