काठमाडौं । सरकारले सामूहिक रुपमा कोरोना बिमा गर्दा अनुदान दिने भएको छ । अर्थ मन्त्रालयले जारी गरेको कार्यविधि अनुसार अब सामूहिक रुपमा कोरोना बिमा गर्दा सरकारी कर्मचारीले शत प्रतिशत र सर्वसाधारणले प्रिमियमको ५० प्रतिशत अनुदान पाउनेछन् ।
चालु आर्थिक वर्षको बजेटमा गरेको घोषणा अनुसार अर्थ मन्त्रालयले अनुदानसम्बन्धी कार्यविधि स्विकृत गरेसँगै बिमा समितिले बुधबार पत्रकार सम्मेलन गरी कोरोना बिमामा अनुदान कार्यक्रमको सुरुवात गरेको हो ।
अनुदान प्राप्त गर्नका लागि सामूहिक रुपमा नै बिमा गर्नुपर्ने समितिका अध्यक्ष चिरञ्जीवी चापागाईँले बताए ।
हाल कोरोना बिमा लेख अन्तर्गत एक लाख र ५० हजार गरी दुई प्रकारको बिमांक छन् । एक लाख बिमांक भएको बिमा लेखका लागि प्रतिव्यक्ति एक हजार र ५० हजारको बिमांका लागि प्रतिव्यक्ति ५ सय रुपैयाँ बिमा शुल्क तोकिएको छ । सामूहिक बिमा गर्दा भने १ लाखको लागि प्रतिव्यक्ति ६ सय र ५० हजारको लागि प्रतिव्यक्ति ३ सय रुपैयाँ बिमा शुल्क छ ।
अब सामूहिक रुपमा बिमा गर्ने हो भने एक लाखको लागि ३ सय र ५० हजारको लागि एक सय ५० रुपैयाँ मात्र प्रिमियम तिर्नुपर्नेछ ।
अनुदानमा प्राप्त हुने बिमा सुविधा कुनै पनि परिवारले एउटा कम्पनीबाट एकपटकका लागि मात्र पाउने र यसको अवधि २०७८ साल असार मसान्तसम्म मात्र रहने समितिले जनाएको छ ।
कोरोना बिमा खरिद गर्नका लागि नेपाली नागरिक हुनुपर्ने र भारत वा तेस्रो मुलुकबाट नेपाल फर्केको भएमा १५ दिन अनिवार्य क्वारेन्टाइनमा बसेको र थप १५ दिन आफ्नो परिवारसँग गरी कुल ३० दिन बसेको सम्बन्धित स्थानीय तहले प्रमाणित गरेको हुनुपर्ने व्यवस्था छ ।
कोरोना बिमालेख खरिद गरेको १५ दिन पछि नेपाल सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गतका निकायबाट पीसीआर परीक्षण गर्दा कोरोना भाइरस संक्रमण भएको पाइएमा बिमालेख बमोजिमको रकम भुक्तानी हुने बिमा समितिले जनाएको छ । त्यसको लागि बिमालेख दाबी गरेको ७ दिन भित्र बीमितलाई दाबी भुक्तानी हुने व्यवस्था छ ।
प्रतिक्रिया