काठमाडौं । नेपाल बैंकर्स संघले बाणिज्य बैंकहरुलाई आलोपालो शाखा खोलेर सेवा दिन भनेको छ । पछिल्लो समय काठमाडौं उपत्यकामा कोभिड संक्रमितको संख्या बृद्धि भएसँगै बैंकका कर्मचारीहरुमा पनि संक्रमण फैलिएपछि संघले सवै शाखा नखोली आलोपालो शाखा खोलेर सेवा दिन भनेको हो ।
नेपाल राष्ट्र बैंकसहित विभिन्न बैंकका कर्मचारीहरु कोभिड संक्रमित भइसकेका छन् ।
कोभिड–१९ संक्रमणको जोखिम बढेपछि अत्यावश्यक अवस्थामा बाहेक शाखामा नआउन बैंकर्सहरुले आग्रह गरेका छन् । सार्वजनिक सूचना प्रकाशित गरी नेपाल बैंकर्स संघले अवस्थामा बाहेक बैंकको शाखामा नआई भिडभाड कम गर्नका निमित्त सहयोग गर्न आग्रह गरेको हो ।
संक्रमण बढेपछि गत सातामात्र नेपाल राष्ट्र बैंकले कर्मचारीलाई आलोपालोको व्यवस्था गरी आधा कर्मचारीबाट सेवा दिनका बैंकहरुलाई निर्देशन दिएको छ । यसैगरी कोभिड–१९ को अवस्थामा सेवा संचालनसम्बन्धी निर्देशिका बनाउन समेत निर्देशन दिएको छ ।
राष्ट्र बैंकको निर्देशनपछि बैंकहरुले कारोबार समय घटाएका छन् । यसैगरी शाखाहरु पनि आलोपालोमा मात्र खोल्न थालेका छन् ।
संघले डिजिटल बैंकिङ्ग (मोबाइल/इन्टरनेट बैंकिङ्ग) को माध्यमवाट प्रायस् जसो सबै प्रकारका दैनिक कारोवार गर्न सकिने हुनाले डिजिटल बैंकिङ सेवाको अझ बढी प्रयोग गर्नुहुन अनुरोध गरेको छ । यस्तै डिजिटल बैंकिङ प्रयोग गर्न कुनै पनि प्राबिधिक समस्या भएमा, पासवर्ड विर्सिएमा वा अन्य कुनै अफ्ठ्यारो परेको खण्डमा सम्बन्धित बैंकको शाखामा फोन मार्फत् सम्पर्क गरि सहयोग लिन पनि आग्रह गरेको छ ।
एउटा खातावाट अर्को कुनै खातामा रकम जम्मा गर्न, विभिन्न बिलहरु भुक्तानी गर्न, आफ्नो खाताको कारोबार विवरण हेर्न, खातामा रहेको रकम हेर्न, आदि कामहरु सहज रुपमा डिजिटल बैंकिङ्गवाट गर्न सकिने हुनाले घरमै बसी सहज रुपमा बैंकिङ्ग गर्न सकिने संघले जनाएको छ ।
प्रतिक्रिया