काठमाडौं । सहकारी संघसंस्थाहरुले गरेका सकारात्मक कामको प्रचारप्रसार नभएको सहकारीकर्मीहरुले गुनासो गरेका छन् । नेपाल सहकारी पत्रकार समाज (सिजेएन) को १० औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनीहरुले पत्रकारिताका माध्यमबाट सहकारीका विकृतीसँगै सकारात्मक पाटो पनि ल्याउन आग्रह गरे ।
भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव टेकनारायण पाण्डेले संविधानले परिकल्पना गरे अनुसार आर्थिक, सामाजिक रुपान्तरणमा सहकारीको भूमिका महत्वपूर्ण हुने बताए । सहकारीले सदस्यको आर्थिक समाजिक रुपान्तरणमा सघाउ पु¥याउनुपर्ने बताए । सबल अर्थतन्त्र निर्माणका लागि सहकारीलाई महत्वपूर्ण साझेदारको रुपमा स्थापित गर्न मन्त्रालय क्रियाशील रहेको उनको भनाइ छ ।
सहरमा रहेका सहकारीको मात्रै कुरा सुन्ने र त्यसको अनुभवको आधारमा नकारात्मक वा सकारात्मक प्रचार प्रसार भयो की भन्ने गुनासो आउने गरेको उनको भनाइ छ । सचिव पाण्डेले आगामी दिनमा सहकारी पत्रकार समाजसँगको सहकार्यलाई प्रभावकारी रुपमा अघि बढाउने बताए ।
राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कंडेलले सहकारीले देशमा गरिबी न्यूनिकरण, सामाजिक रुपान्तरणमा महत्वपूर्ण काम गरेको दाबी गरे । सहकारीले विकसीत देश निर्माण गर्नका लागि महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो । सहकारीको क्षेत्रमा तथ्यांक अभाव भएकाले तथ्यांक मिलाउने काम सरकारी निकायले गर्नुपर्ने बताए । सहकारी अभियान सरकारको परिपुरकको रुपमा काम गरेको उनको भनाइ छ । उनले सहकारी संस्था धेरै संख्यामा भएका कारण कोरोनाका बेला पास लिन समस्या भएको भन्दै उपत्यकामा कारोनाको संक्रमण बढेको भन्दै आफू पनि यसबाट बच्दै अघि बढ्नु पर्ने बताए ।
राष्ट्रिय सहकारी विकास बोर्डका सह–अध्यक्ष दक्ष पौडेलले सहकारीलाई प्रविधितर्फ जानको लागि आवश्यक गृहकार्य गरीरहेको बताए । उनले सहकारी पनि अब २१ औं शताब्दी अनुसार चल्नको लागि प्रविधिमा जान अत्यावश्यक भइसकेको उनको भनाइ छ । समाजले सहकारीलाई संचार क्षेत्रमा गरेको काम उल्लेखनीय भएको भन्दै समुदायमा सहकारीप्रति विश्वास जगाउने काम सञ्चार माध्यममा ल्याउन सुझाव दिए । बोर्डले राष्ट्रिय सहकारी नीति निर्माणको काम अघि बढाएको उनको बताए ।
राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले सहकारीलाई सुसाशनमा ल्याउने काममा सञ्चारकर्मीको भूमिका महत्वपूर्ण भएको बताए ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)का अध्यक्ष परितोष पौड्यालले सहकारी क्षेत्रमा खबरदारी गर्दै अघि बढन सञ्चारकर्मीलाई आग्रह गरे । पत्रकार समाज सहकारी अभियानको आवाज बन्न सकेको भन्दै उनले सहकारीको क्षेत्रमा निकै प्रभावकारी काम गरिरहेको बताए । सहकारीको विकासका लागि सकारात्मक मार्ग दर्शनमा पत्रकारले कलम चलाउनुपर्ने उनको भनाइ छ ।
दोलखा जिल्ला सहकारी संघका अध्यक्ष हेमन्त चौलागाईले नेपालको कर्मचारीतन्त्रले सहकारीलाई नचिनेको आरोप लगाए । उनले उपत्यका भित्रका सहकारीले गरेको काम हेरेर जिल्लाका सहकारीसँग तुलना गर्न नहुने धारणा राखे ।
समाजका संस्थापक अध्यक्ष यादव हुमागाईले आगामी दिनमा समाजले सञ्चारकर्मीको भूमिकालाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताए । उनले उपत्यका भित्रका सहकारीको समाचार मात्रै छापामा आउने भन्दै उपत्यका बाहिर रहेका सबैलाई समेटेर लैजान आवश्यक रहेको बताए । उनले कतिपयले समाजलाई सहकारी संस्था नै हो की भन्ने बुझ्दा समस्या सृजना भएको भन्दै यो दुविधाबाट मुक्त हुन आग्रह गरे । लामो समयदेखि तथ्यांक राख्न आवाज उठाइएपनि सरोकारवाला निकायले तथ्यांक संकलनमा बेवास्ता गर्दै आएको उनको भनाइ छ ।
नेपाल सहकारी पत्रकार समाज, २०६८ साल भदौ १९ गते स्थापना भएको गैर नाफामुखी स्वशाशित गैर सरकारी संस्था हो । यस समाजले विभिन्न सञ्चार माध्यममा सहकारीलाई बिट बनाएर काम गरिरहेका कृयाशील पत्रकारहरुलाई संगठित गरी सहकारी पत्रकारिताको विकास गर्दै सदस्य पत्रकारहरुको वृति विकास क्षमता अविभृद्वि गर्दै सहकारीको विकासका लागि गतिशील रहेको छ । हालसम्म विभिन्न सञ्चार माध्यममा क्रियाशील ७४ जना पत्रकार यस संस्थासंग आवद्ध भईसकेका छन् । बार्षिकरुपमा संस्थाले संस्थापक सम्मान तथा सिजेएन पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ । संस्थाले सहकारीका सरोकारवाला निकायहरु संग सहकार्य गरी सञ्चारकर्मीको क्षमता अभिबृद्धि गर्ने, सहकारीका विविध विषयमा सरोकारवाला निकायसँग छलफल तथा अन्तरक्रियाका सार्थै साक्षात्कार कार्यक्रम गर्दै आएको छ । त्यस्तै पत्रकारहरुको लेखनवृति विकास तालिम, अध्ययन अवलोकन भ्रमण, समसामयिक विषयमा सरोकारवालाहरुसंग बहस पैरवी गर्दै आएको छ ।
प्रतिक्रिया