काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव टेक नारायण पाण्डेले सहकारीको संचालन प्रक्रियालाई प्रभावकारी बनाउनुपर्ने आवश्यक्ता औल्याएका छन् । सहकारीमार्फत गरिवी न्यूनिकरण गर्न सकिने भएपनि संस्थाहरु प्रभावकारी हुन नसकेको उनको भनाइ थियो ।
नेटवर्क फर डेभलपमेण्ट अफ एग्रीकल्चर को अपअरेटिभस इन एसिया (नेडाक) र राष्ट्रिय सहकारी बैंकले बुधवार संयुक्त रुपमा आयोजना गरेको एप्रेजल अफ प्रोजेक्ट प्रोपजल्स फर फाइनान्सिङ बाई ल्याण्डिङ इन्स्टीच्यूसन कार्यक्रममा बोल्दै सचिव पाण्डेले नेपालको आर्थिक विकास र सामाजिक रुपान्तरणमा सहकारीको भूमिकाका बारेमा जानकारी गराउदै सहकारी क्षेत्रको दीगो विकास र गरिवी निवारणका लागि राज्य र सहकारीबीच समन्वयकारी भूमिकामा जोड दिए ।
कृषि लगायत उत्पादनका क्षेत्रमा सहकारीको योगदान बढाउन तथा वित्तीय अनुशासनको पालना गरी विपन्न वर्गका जनताको जीवनस्तर माथि उठाउने गरी सहकारी क्षेत्रका पुँजी परिचालनका लागि सहकारी क्षेत्रको ध्यान जानुपर्ने उनको भनाई थियो ।
कारोना महामारीका कारण नेपालका सहकारी संघ संस्थाहरुको कर्जा कारोबारमा देखिएका चुनौतीहरु र समाधानका विषयमा समिक्षा तथा जानकारी गराउर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो ।
नेडाकका अध्यक्ष सन्दिप नायकले नेडाकको बारेमा जानकारी दिदै सहकारी क्षेत्रमा देखिएका समस्या समाधान र सहकारीको उपलब्धी बढाउन सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
बैंकका अध्यक्ष तथा नेडाकका उपाध्यक्ष के.बी. उप्रेतीले कोरोना संकटका बीच पनि सहकारी क्षेत्रले वित्तीय, सेवा तथा उत्पादन क्षेत्रमा गरेको योगदान प्रभावकारी रहेको बताए । वित्तीय क्षेत्रमा देखिएको संकटसंगै कर्जा परिचालनमा चुनौती थपिएको भन्दै उप्रेतीले वित्तीय क्षेत्रमा देखिएका समस्याको पहिचान गरी समाधानका लागि सहकारी र राज्यका बीचको समन्वय आवश्यक रहेको उल्लेख गरे ।
प्रतिक्रिया