वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकलाई हम्मेहम्मे, बैंकहरुसँग ७ खर्ब लगानीयोग्य पुँजी

अर्थटुडे
२०८१ फाल्गुन २, शुक्रबार

काठमाडौं । बैंक, वित्तीय संस्थासँग अधिक तरलता भएपछि व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकलाई हम्मेहम्मे पर्न थालेको छ । राष्ट्र बैंकले हरेक दिन विराएर स्थायी निक्षेप सुविधा र हरेक साता निक्षेप संकलन बोलकबोल उपकरणमार्फत बजारबाट पैसा तान्दै आएको छ ।

राष्ट्र बैंकको तथ्यांक अनुसार बैंकहरुसँग यतिबेला करिब ७ खर्ब रुपैयाँ थप कर्जा प्रवाह गर्नसक्ने क्षमता छ । तर, बजारमा कर्जाको माग नभएको भन्दै बैंकहरुले केन्द्रीय बैंकका उपकरणहरुमा तरलता व्यवस्थापन गर्दै आएका छन् ।

शुक्रबारसम्म बैंक, वित्तीय संस्थाले ६७ खर्ब १४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ५४ खर्ब ३६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । बैंकहरुको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७९ दशमलव ६५ प्रतिशत छ । बैंकहरु ९० प्रतिशतसम्म सीडी रेसियो कायम गरी कर्जा दिन पाउने व्यवस्था छ ।

बैंकिङ्ग प्रणालीमा अधिक तरलता थुप्रिएसँगै केन्द्रीय बैंकले प्रशोचन गरिरहेको छ । यसैक्रममा केन्द्रीय बैंकले माघ महिनामा मात्र निक्षेप संकलन उपकरणमार्फत बैंकिङ्ग प्रणालीबाट ९ पटक गरी ४ खर्ब २५ अर्ब रुपैयाँ बराबरको तरलता प्रशोचन गरेको छ ।

राष्ट्र बैंकले निक्षेप संकलनको ब्याजदर करिडोरको तल्लो सीमा अर्थात ३ प्रतिशत तोकेको छ । अन्तर बैंक ब्याजदर न्यूनतम ३ प्रतिशत भन्दा तल झरेको अवस्थामा मौद्रिक उपकरणवाट तरलता प्रशोचन गर्नुपर्छ ।

अहिले हरेक हप्ताको आइतबार, बुधबार र बिहीबार गरी ३ दिन बैंकहरुले निक्षेप राष्ट्र बैंकमा जम्मा गर्न पाउने गरी स्थायी निक्षेप सुविधा दिएको छ । यो सुविधाको उपयोग गरिसकेपछि पनि बजारमा अधिक तरलता भएको खण्डमा राष्ट्र बैंकले निक्षेप संकलन औजार प्रयोग गरी आफै निक्षेप प्रशोचन गर्दै आएको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ