काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा जारी गरेको बचत तथा ऋण सहकारी संस्था सम्बन्धी निर्देशन तथा मापदण्डले अप्ठेरो परेपछि नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) लगायतका बचत तथा ऋणको कारोबार गर्ने संघहरु राष्ट्रिय सहकारी महासंघको शरणमा पुगेका छन् । राष्ट्र बैंकलाई सिधै सुझाव बुझाएपनि सम्बोधन नगरी मापदण्ड जारी भएपछि उनीहरु झस्किएर माग पुरा गर्न महासंघ गुहारेका हुन् ।
मंगलबार नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालको संयोजकत्वमा बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून), बागमती प्रदेश भित्रका जिल्ला बचत तथा ऋण सहकारी संघका प्रतिनिधिहरु महासंघमा पुगेका थिए । उनीहरुले मापदण्डका विषयहरु संसोधनका लागि पलह गरिदिन महासंघकी अध्यक्ष ओमदेवी मल्ललाई ज्ञापनपत्र समेत बुझाएका छन् ।
राष्ट्र बैंकले मापदण्डमा एक महिनाको समय दिएर सुझाव मागेको थियो । उक्त समयमा नेफ्स्कून, प्रोस्कूनलगायतले राष्ट्र बैंकमा कार्यकारी निर्देशक गुरु पौडेललाई छुट्टाछुट्ट सुझावहरु बुझाएका थिए । तर, उनीहरुको सुझावलाई केन्द्रीय बैंकले वास्ता नगरेपनि बल्ल महासंघ पुगेका हुन् ।
यसअघि प्रदेश र जिल्ला संघहरुले नेफ्स्कूनमा छुट्टै ज्ञापनपत्र बुझाएका थिए ।
मंगलबारको बैठकमा अध्यक्ष ओमदेवी मल्लले पनि संघहरुले महासंघको सर्वोच्चतालाई स्वीकार नगरेको र आफुखुशी लविइङ गर्दा समस्या नित्याएको बताइन् । ‘तपाईहरु सहज अवस्था छउन्जेल मन्त्री, सचिव भेट्दै, खादा माला लगाउने, आफुखुशी कुरा राख्ने गर्नुहुन्छ’ मल्लले भनिन्, ‘जब समस्या पर्छ अनि महासंघले केही गरेन भन्नु पनि भएन ।’
राष्ट्र बैंकले जारी गरेको मापदण्डमा उल्लेख बचत तथा ऋणको सिमा, पुँजीकोष, तरलताको गणना, संघहरुको कारोबार, तेस्रो पक्ष धितो लगायतका विषयमा संघहरुले आपत्ति जनाउदै आएका छन् ।
प्रतिक्रिया